भजनी स्थित मरिया घाट र गुलरिया घाट बन्द, हेल्प डेक्स हटाइयो
कैलाली, ९ चैत । कैलालीको भजनी नगरपालिका स्थित मरिया घाट र गुलरिया घाट बन्द गरिएको छ । छिमेकी देशमा कोरोना संक्रमण देखिएपछि नेपालीहरुलाई भारतीय बजार जान पूर्णरुपले बन्द गरिएको भजनी नगरपालिकाका स्वास्थ्य अधिकृत कृतिसिंह विकले जानकारी दिए ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर सीमावर्ती भारतीय बजारसंग जोडिएको सबै नाका बन्द गर्ने सरकारले निर्णय गरेपछि सो घाटपनि बन्द गरिएको अधिकृत विकले बताए । उनले घाट बन्द भएपछि हिजोदेखि हेल्प डेक्सपनि हटाइएको जनाए ।
गुलरिया घाट यसअघि छोटी भन्सार रहेको थियो भने मरिया घाट चोरबाटोको रुपमा प्रयोग हुने घाट हो । यो घाटबाट दिनहु सयौंको संख्यामा आवतजावत हुने गरेको छ ।
उक्त घाटमा भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका लगायतका स्थानीय किनमेलका लागि यहि नाकाबाट भारतको टिुकनिया, बेलराया, बन्दीपुर बजार पुग्ने गरेका छन् ।
कोरोना संक्रमणको जोखिम बढेपछि यो घाट किनमेलका लागि भारत जान पूर्ण रुपमा बन्द भएपछि उक्त घाटमा प्रशासनले निगरानी गरिरहेको विकको भनाई छ । उनले समय मिलाएर दिउसो तिर घाट सम्म पुगेर अनुगमन गर्न निस्कने योजना रहेको बताए ।













