धनगढीका मुख्य चोक र बसपार्कमा हात धुन साबुन पानी
धनगढी, ७ चैत । धनगढी उप–महानगरपालिकाले कोराना भाईरसको पूर्व सतर्कता अन्तरगत मुख्य चोक र बसपार्कमा सर्वसाधारणलाई हात धुन साबुन पानीको ब्यबस्था गरिएको छ ।
धनगढी उप–महानगरपालिकाको समन्वय र सहकार्यमा बिभिन्न संस्थाहरुको सहयोगमा ५ सयदेखि १ हजार लिटरका प्लाष्टिकका पानी ट्यांकी र साबुनको ब्यबस्था गरिएको हो ।
शुक्रवार बिहान सुदूरपश्चिम यातायातका उपाध्यक्ष नरेशबहादुर थापाको सहयोगमा ५ सय लिटरको पानी ट्यांकी र साबुनको ब्यबस्था गरिएको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । उनले भने, धनगढी बसपार्कमा सुदूरपश्चिम यातायात समितिले पानीको ट्यांकी र साबुन पानीको ब्यबस्था गरेको छ ।
निर्माण ब्यावसायी संघ कैलालीले आफ्नो कार्यालय अगाडीको सडक चौकमा १ हजार लिटरको पानी ट्यांकी र साबुन पानीको ब्यबस्था गरेको छ ।
नगरप्रमुख वडका अनुसार एलएन चोक, मालपोत रोडको चोक, क्याम्पस रोड लगायत ८ वटा भन्दा बढी स्थानमा सर्वसाधारणलाई हात धुन साबुन पानीको ब्यबस्था गर्ने योजना गरेको छ । चिकित्सकहरुले साबुन पानीले पटक पटक हात धोएमा कोरोना सर्नबाट बच्च सकिने बताएका छन् ।













