ग्रामीण क्षेत्रका बासिन्दालाई कोरोनाको त्रासले छोएन, सामान्य किनमेलमा भारतिय बजार धाउदै
धनगढी, ७ चैत । विश्वव्यापी कोभिड–१९ (कोरोना) को त्रास बढेपनि नेपालको ग्रामिण क्षेत्रका बासिन्दाहरु बेवास्ता गर्दै हिडिरहेका छन् । कोभिड–१९ (कोरोना) भाईरस नेपाल भित्रन नदिन सरकारले थुपै्र निर्णय गरेपनि भारतसंग जोडिएका खुल्ला नाकामा ओहोर दोहोर गर्नेको संख्यामा कुनै कमि भएको देखिएको छैन ।
उता सरकारले कार्यालयहरू बन्द गर्ने तयारीमा जुटेको छ। अदालत, विद्यालय, महाविद्यालयहरू बन्द भइसकेका छन् कैलालीको त्रिनगर भन्सार बाहेक सबै नाकाहरु बन्द गरेको घोषणा समेत भईसकेको छ । तर कैलालीको भजनी नगरपालिका अन्तर्गत गुलरिया घाट र मरिया घाटबाट ओहोरदोहो गर्नेको संख्यामा भने कुनै कमी नभएको बताउछन् भजनी नगरपालिकाका स्वास्थ्य अधिकृत कृतिसिंह विक ।
उनले भने ‘सरकारको निर्देशनअनुसार मरिया घाट बन्द गरेको घोषणा भएपनि मान्छेहरुको आवत जावतमा रोक लगाउन नसकेपछि पुन हेल्प डेक्स राखेका हौं ।’
उनले मरिया घाटबाट दिनहु १२० देखि १४० जना सम्मा र गुलरिया घाटबाट लगभग २०० देखि ४०० जना भारतको बन्दीपुर, बेलराँया, टिकुनिया लगायत बजारहरुबाट घरयासी सामान किनमेल गर्न ओहरदोहर गरिरहेको बताए ।

अधिकृत विकले भने ‘हाम्रो काम चेक जाँच गर्ने हो । ओहरदोहर गर्नेहरुलाई कोरोनाबारे जानकारी दिने उनीहरुलाई काउन्सिलिंग गर्ने गरेका छौं । हामी सुरक्षित हुनकोलागि सम्पूर्ण नाका, घाटहरुलाई पूर्णरुपमा बन्द गर्नुपर्छ, सरकारले प्रशासनलाई कडाई गर्न निर्देशन दिनु पर्यो ।’
गाउँका मान्छे सामान्य सामान पनि किलमेल गर्न इन्डिया गईरहेको बताउदै उनले भने ‘१ केजी चिनी, २ केजी आलु, खुर्सानी, मोटरसाईकल सर्भिसिंग जस्ता कामले ओहरदोहर भईरहेका छन् ।’ जुन सामान नेपालमै पाईरहेको छ, इन्डिया जान पूर्णरुपले रोक लगाउन सरकार गम्भिर हुन जरुरी रहेको विकको भनाई छ ।

त्यस्तै गुलरिया घाटमा खटिएका स्वास्थ्यकर्मी छत्रबहादुर बुढाले इन्डिया ओहरदोहर गर्नेहरुलाई काउन्सिलिंग गरिरहेको बताए । उनले भने ‘यहाँ आउने धेरैलाई कोरनाबारे जानकारी छैन, हामी उहाँहरुलाई सम्झाई बुझाई केही दिन भारत नजान आग्रह गरिरहेका छौं ।’
ओहरदोहर गर्नेहरुलाई सामान्य चेकजाँच गरिरहेको बताउदै उनले भने हामी आफै पनि जोखिममा छौं । उपकरण छैन, ९५ मार्स छैन, यो चेक जाँचले कोरोना हो या होईन भन्ने कुरा पत्त लगाउन गाह्रो रहेको बुढाले बताए ।

उक्त घाट भएर जोशीपुर गाउँपालिका, भजनी नगरपालिकाका स्थानीयहरु नुन, तेल, खुर्सानी, लत्तकपडा, दाल, चिनी, मसला, सर्फ, साबुन इत्यादी किनमेल गर्न इन्डिया गईरहेका हुन्छन् । त्यसै गरि भारतिय नागरिकहरु पनि ब्रर्फ बेच्न, आल, प्याज बेच्न नेपाल भित्रिने गरेका छन् ।
सीमा नाकाबाट तत्काल ओहरदोहर नगर्न मुख्य मन्त्रीको आग्रह
कोरोना भाईरसको संक्रमण फैलिनबाट रोक्न सुदूरपश्चिमको सीमा नाकाबाट तत्काल ओहरदोहर नगरिदिन मुख्यमन्त्री त्रिलोचन भट्टले आग्रह गरेका छन् ।

भारतमा कोरोनाको संक्रमण फैलिईसकेकोले त्यसबाट नेपालपनि जोखिममा रहेकोले कोरोनाको संक्रमण भित्रिन नदिन अपनाउनु पर्ने साबधानी र संक्रमण फैलिएको खण्डमा अपनाउनु पर्ने उपचार बिधि र त्यसको पूर्व तयारीका बारे बैठकमा छलफल भएको थियो ।
मन्त्री भट्टले भारतबाट निर्बाध रुपमा आवातजावत हुने क्रम नरोकिएकोले नेपालमा पनि संक्रमण फैलिन सक्ने संभावित जोखिम हुने भएकोले केहि दिन आवतजावतमा रोकनु पर्ने बताए ।
उनले बैठकमा सुदूरपश्चिममा कोरोना संक्रमण फैलिन नदिने बिशेष रणनीति र योजना बनाउने तयारी भईरहेको बताए । आज दिउसो एक बजे मुख्यमन्त्री कार्यालयमा बोलाएको बैठकमा सुदूर पश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश बहादुर शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना नेपाल प्रहरी, सशस्त्र प्रहरीका जिल्ला प्रमुख सहभागी थिए ।













