हसुलिया नाका पूर्णरुपले बन्द, हेल्प डेक्सकोलागि ५ लाख रुपैया विनियोजन
कैलाली, ७ चैत । कैलालीको हसुलिया नाका पूर्णपले बन्द भएको कैलारी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले बताए ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर सीमावर्ती भारतीय चन्दनचौकी बजारसंग जोडिएको सो नाका पूर्णरुपले बन्द गरिएको हो ।
यो नाकामा यसअघि छोटी भन्सार रहेको थियो । तत्कालीन द्वन्द्वको क्रममा विस्थापित भएको छोटी भन्सार पुनस्र्थापना हुन सकेको छैन । यो नाकाबाट पनि धेरैको आवतजावत हुने गरेको छ ।
कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिकाका स्थानीय किनमेलका लागि यहि नाकाबाट भारतको चन्दनचौकी बजार पुग्ने गरेका छन् ।
कोरोना संक्रमणको जोखिम बढेपछि यो नाकामा किनमेलका लागि भारत जान पूर्ण रुपमा बन्द गरिएको तर भारतबाट फर्केका नेपालीहरुलाई भने चेक जाँच पश्चात काउन्सिलिंग गरेर भित्रियाउने गरेको अध्यक्ष चौधरीले बताए ।
उनले भने ‘हामीले उताबाट भारतीय नागरिकलाई पनि आउन दिएका छैनौं’, यो नाकाबाट जोडिएको बस्ती मिलनपुर/विपतपुर मुक्त कमैया शिविर, भुईयाँफाँटा, रामपुर, मोहनपुर, शिवरत्नापुर, बड्का पलिया लगायत गाउँहरुमा भोलेन्टिएर टीम परिचालन गरेका छौं ।’
गाउँपालिकाले विपद् व्यवस्थापन समितिको बैठक बसेर विओपी, ईलाका प्रहरी कार्यालय, सीमा सुरक्षा बल, गाउँको भल्मन्सा, स्वयम सेविका, सम्बन्धित वडाका वडा सदस्यहरुलाई परिचालन गर्न कोरोना संक्रमण जोखिम विरुद्ध समिति गठन गरेको छ । उक्त नाकामा २४ औं घण्टा हेल्प डेक्स राख्े निर्णय गरेको वडा अध्यक्ष चौधरीले जानकारी दिए ।
उनले परिचालन समितिले प्रभावकारीरुपले काम गरिरहेको छ, या छैन भन्ने कुरा चेक जाँचकोले गापा अध्यक्ष, इलाका प्रहरी इन्र्चाज, सीमा प्रहरी इन्र्चाज, विओपी इन्र्चाज, स्वास्थ्य चौकी इन्चार्ज र सम्बन्धित वडा अध्यक्षको टोलीलाई अनुगमनकोलागि टीम गठन गरेको बताए ।













