कञ्चनपुर सीमा विवाद : अन्तराष्टिय सीमा सरोकार समूहद्धारा ज्ञापनपत्र बुझाईयो
कञ्चनपुर, ५ चैत । कञ्चनपुरको सीमा क्षेत्रमा संयुक्त सीमा सर्भे टोलीले सीमांकनकोलागि सीमा स्तम्भ निर्माण गर्ने क्रममा सयौँ विगाहा नेपाली जमिन भारततर्फ परेको भन्ने विषयलाई लिएर छलफल गर्ने भएको छ ।
कञ्चनपुरको पुनर्वास, बेलौरी, बेल्डाँडी र भीमदत्त नगरपालिकाको सीमा क्षेत्रको भोगचलन गर्दै आएको जग्गा भारतमा तर्फ देखिएपछि बिरोध स्वरुप राज्यका बिभिन्न निकायमा ज्ञापन समेत बुझाईएको छ ।
अन्तर्रािष्टय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लव राज भट्टका अनुसार सीमा क्षेत्रमा समस्या देखिएपछि गृह, परराष्ट, भूमि व्यवस्था तथा सम्बन्धित संसदीय समितिहरुमा ज्ञापन पत्र बुझाएको बताए ।
उनले मन्त्री र सांसदहरुले नेपाली भूमि भारतमा गाभिने विषय गम्भीर भएकोले सो विषयमा आवश्यक प्रमाण सहित भारतीय पक्षसँग गम्भीर रुपले छलफल गर्ने बताए । सीमा सरोकार समूहको प्रतिनिधि मण्डलले गृह मन्त्री राम बहादुर थापा, परराष्ट मन्त्री प्रदीप ज्ञवाली, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याल, व्यवस्थापिका संसदको कृषि, सहकारी तथा प्राकृतिक श्रोत, राज्य व्यवस्था तथा अन्तर्रािष्टय सम्बन्ध समितिका सभापतिलाई ज्ञापन बुझाएको थियो ।
टोलीले नेकपा अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) संग समेत भेट गरेका थिए । उनीहरुले हाल प्रयोगमा आएको गलत नक्सा पुनरावलोकन गर्नुपर्ने, भारततर्फ जमिन बुझाउने षडयन्त्र गर्ने तत्कालिन नापी टोलीमाथि कार्वाही गर्नुपर्ने, भोगचलन तथा ऐतिहासिक जंगे पिलर लगायतका आधारमा नयाँ स्टिप नक्सा बनाउनु पर्ने र दुई किलोमिटरमा सीमा सुरक्षा पोष्ट स्थापना गर्न माग समेत गरे ।
ज्ञापनपत्रमा भोग चलन तथा जग्गा धनी प्रमाण पुर्जा र मूल सीमा स्तम्भ (जंगे पिलर) लाई समेत बेवास्ता गर्दै, संयुक्त सीमा सर्भे टोलीले भारतले अतिक्रमण उल्लेख गरिएको छ ।
यस अन्तर्गत बेल्डाँडी गाउँपालिकाको वडा नं. ३ बैवाहा, बेलौरी नगरपालिकाको वडा नं. ८ पचुई, बेलौरी नगरपालिकाको १ नं. र पुनर्वास नगरपालिकाको ४ नं. वडाको २०० र १९९ नम्बर पिल्लर, ९ नं को १९५ नम्बर पिल्लर विवाद रहेको छ । साथै पुनर्वास नगरपालिकाको वडा नं. ९ मा रहेको प्याराताल क्षेत्र र भीमदत्त नगरपालिका वडा नंं १०, गड्डाचौकी देखि जिमुवा जाने सडकखण्ड र वडा नं. ९ ब्रम्हदेव बजारको मुक्त हलिया बस्तीको सयौँ विगाहा जमिन पनि विवादमा रहेको छ ।













