प्रविधिले थपिँदै स्थानीय तहमा नयाँ आयाम

कैलाली, ४ चैत्र । ‘दुई चार जनाको अगाडी बोल्नु प¥र्यो भने आवाज भन्दा अगाडी आँशु आउथ्यो । स्मार्ट मोबाइल चलाउन जान्दिन थिए । तर पनि गाउँलेले सुम्पिएको जिम्मेवारी सहज स्वीकारे ।’ कैलारी गाउँपालिका वडा नं. ६ की वडा सदस्य सुनिला चौधरीको भनाइ हो यो ।

सुनिलाको पढ्ने इच्छा हुँदाहुँदै पनि आमा बुवाले १८ वर्षकै उमेर २०६२ सालमा विवाह गरि दिए । उनी कक्षा ९ सम्म मात्रै पढ्न पाइन् । विवाह पश्चात उनी गाउँमा समाज सेवा गर्न थालिन् । गाउँको सहयोगले उनी २०६३ सालमा पीडित प्रगतिशिल सहकारी संस्था दर्ता गरि अध्यक्षको रुपमा काम गर्न थालिन् । २०६४ सालमा उनी गाउँका महिलाहरुलाई साक्षर बनाउने अभियानमा संलग्न भइन् र प्रौढ कक्षा सञ्चालन गरिन् ।

प्रौढ कक्षा पढाउनु भन्दा अगाडी तालिममा सहभागी भइन् । उनले भनिन् ‘पहिलो पटक घर बाहिर गएर कार्यक्रममा सहभागी भएको थिएँ । तालिमका प्रशिक्षकले मलाई अंकित गर्दै भनेका थिए, यस्ता मान्छे पनि कसरी छनौट भएर आए । जुन कुरा म कहिलै बिर्सिन सक्दैन ।’

२०७३ साल असारमा स्थानीय तहको निर्वाचन भयो । जुन बेला गाउँलेहरु सुनिलालाई जनप्रतिधिमा छनौट गरे । उनी राजनीतिक रुपले परिपक्क नभए पनि गाउँलेले दिएको जिम्मेवारी नकार्न सकेनन् । अन्ततः निर्वाचनमा विजय हासिल गरिन् ।

‘पहिलो वर्ष गाउँपालिकाको बैठकमा एक पटक पनि बोल्न सकेन । बोल्ने पालो आएपछि आँखामा आँशु आउँथ्यो । भाषण गर्न पटक्कै आउँदैन थियो । सहभागिता भने जनाउँथे । बोल्न नसकेको कारण वडा नं. ६ मा पहिलो वर्ष एकदमै थोरै बजेट पारित भयो । समुदायबाट धेरै गाली खाए ।’ उनले भनिन् ।

उनी २०७५ सालमा ग्राम विकास तथा अनुसन्धान केन्द्रको आयोजनामा दुई दिने सुशासन पाठशाला तालिममा सहभागी भएर सूचनाको हक सम्बन्धी जानकारी हासिल गरेको बताउँछिन् । तालिममा उनी पहिलो पटक भाषण गरिन् । स्मार्ट मोबाइल पनि चलाउन सिकिन् । जुन बेला सो संस्थाले कैलारी गाउँपालिकाको सहकार्यमा सुशासन परियोजना लागु गरेको थियो । साथै सूचना प्रविधि केन्द्र पनि स्थापना भयो । उनी सो संस्थाले आयोजना गरेको थुप्रै तालिममा सहभागि भइन् ।

सुशासन परियोजनाले गाउँपालिकाको लागि डेटा पोर्टल (kailari.susasan.org) को विकास गरि टेक्नो हबको स्थापना गर्यो । अहिले गाउँपालिको सबै सूचना प्रविधिको माध्यमबाट हेर्न सकिने प्रणाली बनाइएको छ ।

सुनिला स्मार्ट फोनसंगै इन्टरनेट चलाउनमा पनि सक्षम भएकी छिन् । सूचना प्रविधिको माध्यमबाट गाउँपालिकाको सबै सूचनाहरु थहाँ पाउन थालिन् । उनी गाउँपालिको हरेक गतिविधि अध्ययन गर्न थालिन् । अहिले उनी सहज रुपले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षहरु संग टेबल टक गर्न सक्ने भएकी छिन् । उनी आफ्नो वडाका लागि आवश्यक बजेट विनियोजन गर्न माग समेत गर्न पछि पर्दैनन् आजभोलि । २०७६ सालको बजेटमा उनी आफू निर्वाचित वडामा अरु वडा सरह बजेट विनियोजन गर्न सफल भइन् ।

उनले भनिन् ‘बोल्नको लागि आफूसंग सूचना हुनुपर्छ । विषय बस्तुबारे ज्ञान हुनु जरुरी हुन्छ । तथ्य र तर्क सहित बोल्न सक्यो भने बोलीको सुनुवाई पनि हुन्छ ।’ दुई वर्षसम्म कर्मचारी अन्य जनप्रतिनिधीहरु आफूलाई बेला बेला झुक्याउने गरेको बताउँछिन् । तर अहिले उनी झुक्याउन खोजेको ठाउँमा बहस गर्ने गर्छिन् ।

कैलारी गाउँपालिकामा प्रविधिको माध्यमबाट सबै सूचनाहरु छर्लंगै छन् । कसैले कसैलाई झुक्याउन पाउँदैन । घरमै बसेर सूचना पाउन सकिने व्यवस्था गरिएको छ । जुन कारण सुनिला त्यहाँका नागरिकहरुलाई सूचना प्रविधिप्रति उत्साहित बनाईरहेकी छिन् ।

प्रविधिले जीवनशैलीमा परिवर्तन : सुयेश

धनगढी उप–महानगरपालिकाका सूचना प्रविधि अधिकृत सुयेश चन्दको लाइफ स्टाइल प्रविधिले चेन्ज गरिदिएको छ । २८ वर्षिय चन्द २०७० सालमा तत्कालिन जिल्ला विकास समितिमा कम्प्यूटर अपरेटर भएर काम गर्ने गरेको बताए । उनी पुलचोक क्याम्पसबाट इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जीनियरिड्ड पढेर जागिरे भएका हुन् ।

जिविसमा आउँदा आइटी शाखा प्रमुख भएर प्रवेश गरेपनि सबैले कम्प्यूटर अपरेटर भनेर चिन्थे । विस्तारै उनी प्रविधिको नयाँ प्रणालीलाई फ्लो गर्न प्रपोजलहरु पेश गर्न थालेको बताए । जुन बेला जिविसका कर्मचारीहरुलाई नेट, इन्टरनेट, ईमेल, फेसबुक, वेव साइटबारे त्यति जानकार थिएनन् ।

उनी २०७२ सालमा अफिसका कर्मचारीहरुलाई तालिम दिने मौका पाए । तालिममा फेसबुक, ईमेल, प्रिन्टर सेयरिड्ड, फाईल सेयरिड्डबारे जानकारी दिएको बताए । जुन बेला कर्मचारी धेरै उत्साहित भएर सिक्ने गरेको चन्दको अनुभव छ । उनले जिविसको छुट्टै वेव डिजाइन पनि गरेका थिए ।

स्थानीय सरकार आइसकेपछि उनी धनगढी उप–महानगरपालिकामा आइटी अधिकृत भएर काम गर्ने मौका पाए । उनले नगरपालिकाको छुट्टै वेव डिजाइन गरेर नगरपालिकाका हरेक सूचनाहरु सुरक्षित राख्ने योजना बनाए । सोही क्रममा ग्राम विकास तथा अनुसन्धान केन्द्रले सुशासन परियोजनाको साझेदारीमा र नगरपालिकाको सहकार्यमा टेक्नो हब सम्बन्धी काम गर्ने प्रस्ताव पारित भयो ।

उनले सो संस्थाको आर्थिक सहयोगमा डेटा पोर्टल, (dhangadhi.susasan.org), सोसल मिडिया, फेसबुक पेज, मोबाइल एप्लीकेशन, म्याजिंग सिस्टम, आइएमएस, ई–सिफारिस, न्यायिक व्यवस्थापन प्रणाली, कृषि परियोजना व्यवस्थापन प्रणालीलगायत विभिन्न प्रविधिक औजारहरु विकास गरे । नगरपालिकाले १९ वटै वडामा आफ्नै अप्टिकल फारबर समेत विस्तार गर्यो । अहिले हरेक वडामा सहज रुपले सूचना पाउन सकिन्छ ।

नगरपालिकाको वेव साइडमा व्यक्तिगत घटना दर्ता, एकिकृत कर प्रणाली, ई–सिफारिस, सूचना म्यासेजिंग, पूर्वधार व्यवस्थापन प्रणाली जस्ता सिस्टममार्फत सबै सूचना/तथ्यांक हेर्न पाउने व्यवस्था छ । यो सिस्टमले सूचना दिने र सूचना माग्ने दुबै पक्षलाई सहज बनाएको छ । नगरपालिकाले गरेको नागरिक प्रति परदर्शी र जबाफदेही बनाएको चन्दले बताए । उनले आफूले गरेको सानो सानो प्रयासले अरुको लागि सिकाइ बनेको छ ।

‘हिजो अपरेटर भनेर चिनिने व्यक्ति आज जनतासंग प्रत्यक्ष जोडिएर काम गर्ने मौका पाएको छु । थुप्रै चुनौतीका बाबजुट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठीहरुमा सहभागी भए । सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा आइएमएस सम्बन्धी अभ्यासबारे तालिमको प्रशिक्षक बनेर काम गर्दा खुशी छु । प्रविधिले मेरो पहिचान बनाई दिएको छ ।’

धनगढी उपमहानगरपालिका वडा नं. १५ का २६ वर्षिया माया चौधरी सामुदायीक सूचना प्रविधि केन्द्र स्थापना पश्चात गाउँका यूवाहरुलाई सूचना प्रवाह गर्दै आएकी छिन् । उनी दुई वर्ष अगाडी बोल्न डराउँथिन् त आजभोलि आफै नगरपालिकाको वेव साइडमा राखिएको सूचनाबारे जानकारी दिदै हिडेकी छिन् ।

सूचना केन्द्र स्थापनापछि कम्प्यूटर चलाउने, इन्टरनेट चलाउने, प्रिन्ट गर्ने जस्ता काम आफै गर्ने गरेको उनको भनाई छ । वडा नं. १५ मा लागु भएको योजनामा देखिएको त्रुतिबारे अनलाईन् मार्फत गुनासो समेत गर्न सक्ने सक्षम भएकी छिन् ।

धनगढी उप महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले नगरपालिकाले धेरै सिस्टमको विकास गरेको बताए । उनले उक्त सिस्टमलाई यूवाहरुले चासो दिन जरुरी रहेको बताउँदै टेक्नोलोजीले काम गर्न सजिलो छिटो र छरिटो बनाएको बताए । यस्तो प्रविधि अरु स्थानीय तहमा पनि लागु हुन जरुरी रहेको उनको भनाइ छ । उनले भने ‘धनगढी उपमहानगरपालिका र परियोजनाको सहयोगमा आईएमएस देशमै उदारणीय बनेको छ । यसले नागरिक तहबाट पूर्वाधारको अनुगमन हुनु, धनगढी उपमहानगरपालिका प्रविधिमैत्री नगरपालिका हुनुका साथै कार्यसम्पादनमा देशकै उत्कृष्ट नगरपालिकाको रुपमा छनौट भई पुरस्कृत भएको छ ।’

त्यस्तै, कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले सूचना प्रविधिको माध्यमबाट सबै योजना, बजेट तथा नीतिहरु स्पष्ट रुपले हेर्न पाइने व्यवस्था गरेको बतए । ‘काम विशेषले हामी जुन सुकै ठाउँ गएपनि गाउँपालिकामा के कस्तो काम भईरहेको छ, ती सबै हेर्न पाईन्छ ।’ सबैलाई वेव साइट, डेटा पोर्टल, प्रविधि औजार हेरि दिन उनको आग्रह छ ।

कैलारी गाउँपालिका थारु बाहुल क्षेत्र भएकोले धेरैलाई नेपाली भाषा बोल्न र बुझ्न गाह्रो भएको गाउँपालिकामा गुनासो परेको थियो । जसलाई मध्यनजर गरि गाउँपालिकाले नेपाली र थारु भाषामा नागरिक वडा पत्र राखेको अध्यक्ष चौधरी बताए ।

उनले २०७५/०७६ मा सबै यूवाहरु टेक्नो हब बारे थाहा पाउन अभियान समेत चलाएको बताए । तर अभियानमा संलग्न कतिले व्यवहारमा लागु गरिरहेका छन् त्यसको बारेमा अनुगमन गर्ने कि भनि योजना बनाइरहेको उनको भनाई थियो । उनले कैलारी गाउँपालिका भित्रका सबै नागरिक कुनै पनि सूचनाबाट बञ्चित नहुन भन्ने उदेश्यले यो प्रविधि लागु गरेको बताए ।