कोरोना संक्रमणबाट बच्न सीमानाकाको दुवैतर्फ हेल्थ डेस्क सुविधा सम्पन्न बनाउने
धनगढी, ३ चेत । नेपाल–भारतका अधिकारीले सीमा नाकामा स्थापनामा भएको हेल्थ डेस्कमा कोरोना संक्रमण परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउ सीकनाकाको दुवै तर्फ हेल्थ डेक्स सुविधा सम्पन्न बनाउने निर्णय गरेका छन् ।
सोमबार गौरीफन्टामा बसेको दुवै देशका अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा दुवैतर्फबाट स्थापना भएको हेल्थ डेस्कलाई थप सुविधा सम्पन्न बनाउने, जोखिमलाई मध्यनजर गरी कैलालीको त्रिनगर र खक्रौला नाकाबाटमात्रै आवतजावत गर्न दिने निर्णय गरिएको छ ।
सीमावर्ती इलाकाबाट हुने आवतजावतलाई सिमानामा खटिएका दुवै देशका सुरक्षा अधिकारीले कडाइका साथ नियन्त्रण गर्ने र दुवै पक्षबाट निरन्तर समन्वय र सहकार्य गर्ने निर्णय भएको छ ।
भारतीय पक्षले थर्मल स्क्यानर मेसिन राख्ने तयारी गरेकाले नेपाली पक्षलेसमेत सो मेसिनका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएको हो ।
संयुक्त बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, भारतको लखिमपुर जिल्लाका जिल्ला अधिकारी (डीएम) शैलेन्द्रकुमार सिंह, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, कैलालीका प्रहरी प्रमुख सुदीप गिरी, सशस्त्र प्रहरी प्रमुख कमलप्रसाद तिउसिना, लखिमपुरका सीडीओ अरबेन्द्र कुमार, एसडीएम पूजा यादव लगायत दुवै देशका सुरक्षा निकायको उपस्थिति रहेको थियो ।













