कोरोनाको त्रास : श्रमिक महिला दिवसको घोषित कार्यक्रम स्थगित

धनगढी, २४ फागुन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको त्रास र यसबाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै विश्वव्यापी रुपमा मनाउन लागिएको महिला हडतालको कार्यक्रम स्थगित गरिएको छ ।

‘महिला रोकिए संसार रोकिन्छ’ भन्ने मूल नाराका साथ संसारभरका महिलावादी एवं सहयोगी संघसस्थाद्वारा संगठित मनाउन लागिएको विश्वव्यापी महिला हडतालमा महिलाहरू एकै ठाउँमा जम्मा हुने कार्यक्रम स्थगित भएको महिला मानब अधिकार रक्षक संजालका जिल्ला अध्यक्ष निर्मला बाग्चन्दले बताईन् ।

उनले धनगढीको ट्राफिक चौकबाट निकाल्ने र्यालीलाई स्थगित गरेको जानकारी दिईन् । कोरोना भाईरसको त्रास, यसबाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै र सरकारद्वारा कुनै प्रकारको भिड तथा जमघट नगर्न गरिएको आह्वानको कदर गर्दै जुलुस प्रदर्शन नगर्ने निर्णय गरिएको बताइन् ।

महिलाहरुको ठूलो भेला नगरि ८/१० जनाको समुह बनाई धनगढीको विभिन्न चोकहरुमा दिउसो ११ बजे एक घण्टा उभिइएर ऐक्यवद्धता जनाउने निर्णय गरेको सञ्जालका सचिब बसन्ती चौधरीले जानकारी दिईन् ।

उनले बाटोमा यात्रा गर्ने यत्रुहरुलाई नबोलिकनै महिला रोकिए संसार रोकिन्छ भन्ने पमप्लेट र कोरोना भाईरसबाट बच्ने उपाईबारे बनाइएको पर्चा बाँडेर श्रमिक महिला दिवस मनाउने निर्णय गरेको बताईन् ।

ऐक्यवद्धता जनाउने प्रत्येक व्यक्तिले ‘महिला रोकिए संसार रोकिन्छ’ लेखिएको टि–सर्ट लगाई प्ले कार्ड बोक्नेछन् । साथै स्वास्थ्यलाई मध्येनजर गरि सबै जनाले मास्क अनिवार्य रुपमा लगाउन अनुरोध पनि गरिएको छ ।