कोरोनाको त्रास : सबै विद्यालय अनिश्चितकालका लागि बन्द गर्न उपमहानगरको निर्देशन
धनगढी, २३ फागुन । कोरोना भाइरस संक्रमण फैलिन सक्ने भन्दै सरकारले चैत ५ गतेभित्र वार्षिक परीक्षा सक्न निर्देशन दिएको बेला कैलालीको धनगढी उपमहानगरपालिकाले त्योभन्दा अगावै विद्यालय बन्द गर्न निर्देशन जारी गरेको छ ।
धनगढी उपमहानगरपालिकाले शुक्रवार एक विज्ञप्ति जारी गर्दै नगर क्षेत्रका सबै माध्यमिक तहसम्मको शैक्षिक संस्था बन्द गर्न निर्देशन दिएको हो । सरकारले कोरोना भाइसर संक्रमणको त्रासका कारण विद्यालयहरूलाई छिटो परीक्षा सम्पन्न गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो तर धनगढी उपमहानगरले भने आइतवारदेखि नै अनिश्चितकालका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीवार रक्षा मन्त्रालयमा बसेको बैठकले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई कोरोना संक्रमण छिटो हुनसक्ने भएकाले छिटो परीक्षा सम्पन्न गराउन मन्त्रालयलाई निर्देशन दिएको थियो ।
उपमहानगरपालिकाको निर्णय अनुसार आइतवारदेखि लागू हुने गरी शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस उपमहानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरू लगायत सम्पूर्ण शिक्षण संस्थाहरूमा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षा लगायत पठनपाठनका सम्पूर्ण क्रियाकलापहरू अर्को सूचना नभएसम्म मिति २०७६/११/२५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरिएको व्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र आम नगरवासीमा जानकारी गराइन्छ ।’
सरकारको निर्देशन अनुसार सरकारी तथा निजी विद्यालयले फागुन २८ गतेदेखि नै वार्षिक परीक्षा सञ्चालन गर्नुपर्ने थियो । तर धनगढीमा भने अब वार्षिक परीक्षा अनिश्चित हुने भएको छ ।














