स्थानीय सरकारसंग गुनासो राख्न सहज होस् भनि ज्येष्ठ नागरिकलाई मोबाइल

धनगढी, २२ फागुन । कैलालीको एक वडा कार्यालयले वडामा रहेका सबै ज्येष्ठ नागरिकलाई मोबाइल र नेपाल टेलिकमको सीमकार्ड वितरण गरेको छ ।

लक्षित समुदायलाई सम्मान कार्यक्रम अन्र्तगत कैलारी गाउँपालिकाको वडा नम्बर ७ को कार्यालयले वडाभरिकै ज्येष्ठ नागरिकलाई मोबाइल वितरण गरेको हो । वडा कार्यालयले वडाका सबै एकल महिला र अपाङ्ता भएका व्यक्तिलाई पनि मोबाइल वितरण गरेको छ ।

लक्षित समुदायका व्यक्ति र स्थानीय सरकारबीच नियमित खबर आदान प्रदान गर्ने उद्देश्यले मोबाइल वितरण गरेको जनाइएको छ ।

बिहीबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी र नेपाल टेलिकम धनगढीका प्रमुख सुरत मल्लले लक्षित समुदायका व्यक्तिलाई मोबाइल हस्तान्तरण गरे ।

वडा कार्यालयले चालू आर्थिक वर्षमा लक्षित समुदायको कार्यक्रम अन्तर्गत सम्मानका लागि चार लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

सो बजेटले मोबाइल खरिद गरेर ३७६ जनालाई वितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ । २९ जनालाई अझै पनि मोबाइल अपुग रहेको जनाइएको छ ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष चौधरीले चालू आर्थिक वर्षमा गरेको नीतिगत निर्णय अनुसार सबै वडाका ज्येष्ठ नागरिकलाई सम्मान गरेको बताए । उनले वडा नम्बर ७ मा भने मोबाइल वितरण गरेको जनाउँदै भने–‘लक्षित वर्गको सामाजिक सुरक्षा भत्ता उहाँहरुको बैङ्क खातामा जम्मा भइसकेको खबर अब मोबाइलमै आउने छ ।’

लक्षित समूहले प्राप्त गर्ने भत्ता दुरुपयोग नहोस भनेर सबैको भत्ता रकम बैङ्कमै जम्मा गर्ने व्यवस्था गरिएको छ । अब उनीहरुको खातामा पैसा जम्मा भएको खबर मोबाइलमै आउने अध्यक्ष चौधरीले जानकारी दिए ।

मोबाइल वितरणले लक्षित वर्ग र स्थानीय सरकारबीच नियमित खबर आदान प्रदानमा सहयोग पुग्ने उनको भनाइ थियो । ‘घरमा कसैले गालीगलौच वा अवहेलना गरेमा अब उहाँहरुले सिधै जनप्रतिनिधिलाई फोन गरेर आफ्नो समस्या राख्न सक्नुहुन्छ’, उनले भने–‘यसले हामीबीच नियमित सञ्चार भइरहने हामीले अपेक्षा गरेका छौं ।’

यसैगरी, लक्षित समूहका लागि गाउँपालिकामा आएको विभिन्न कार्यक्रमको बारेमा पनि मोबाइलमै जानकारी गराउने जनाइएको छ । सबैको मोबाइलमा एकसाथ एसएमएस पठाउने व्यवस्था पनि गरेको बताइएको छ ।

प्रविधिको जमानामा वडा कार्यालयले एउटा उदाहरणीय कार्य गरेको नेपाल टेलिकम धनगढीका प्रमुख मल्लले बताए । ‘अहिले प्रविधिको युग हो र मोबाइल सबैलाई अति आवश्यक भइसकेको छ’, उनले भने । ‘वडा कार्यालयको यस्तो प्रयास मुलुकमै एउटा उदाहरणीय कार्य हो ।’

वडा नम्बर ७ मा रहेको ज्येष्ठ नागरिक, अपाङ्ता भएका व्यक्ति र एकल महिला गरी ४०५ जनालाई मोबाइल र नेपाल टेलिकमको सीमकार्ड वितरण गरिने वडा अध्यक्ष कमलप्रसाद चौधरीले जनाए । ३७६ जनालाई बिहीबार मोबाइल र सीमकार्ड दिइएको उल्लेख गर्दै उनले बाँकी २९ जना अपाङ्ता भएका व्यक्तिलाई पछि मोबाइल दिइने बताए ।

‘ज्येष्ठ नागरिकलाई आफ्नो समस्या, गुनासो स्थानीय सरकार समक्ष राख्न सहज होस भनेर मोबाइल र सीमकार्ड वितरण गरिएको हो’, उनले भने । ‘प्रविधिको जमानामा युवालाईमात्रै हैन, ज्येष्ठ नागरिकलाई पनि मोबाइल आवश्यक छ ।’

नेकपाका चन्द्रिका प्रसाद चौधरी, वडा सदस्य फिरुराम चौधरीले मन्तव्य राखेको कार्यक्रममा नेपाल टेलिकमका चन्द्र चौधरी, वडा सदस्यहरु, वडा कार्यालयका कर्मचारी, विभिन्न गाउँका भलमन्सा लगायतको उपस्थिति रहेको थियो ।

मोबाइल पाएपछि ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्ता भएका व्यक्तिहरु खुशी भएका छन् । उनीहरुले स्थानीय सरकार, परिवार, आफन्तसंग कुरा गर्न सहजमात्रै नभइ गीत सङ्गीत सुन्नका लागि पनि मोबाइल उपयोगी हुने जनाएका छन् ।