नेकपाका सांसद अक्कल बहादुर रावल बलात्कारको आरोपमा पक्राउ
धनगढी, २१ फागुन । नेकपाका सांसद अक्कल बहादुर रावल बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका छन् । उनी एक महिलामाथि बलात्कारको दुस्प्रयास गरेको आरोपमा बुधवार पक्राउ परेका हुन् ।
सुदूरपश्चिम प्रदेश सभाका सदस्य रावललाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी एक बिबाहित महिलाले आफूमाथि बलात्कारको प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीमा एक साता अगाडी नै उजुरी दिएका थिईन् ।
पीडित महिलाले प्रदेश सभाका सदस्य रावलका बिरुद्ध फागुन १४ गते नै प्रहरीमा उजुरी गरेकी थिईन् । जाहेरीमा ती महिलाले प्रदेश सभा सदस्य रावलले आफूमाथि माघ २१ गते जवर्जस्ती करणीको दुस्प्रयास गरेको आरोप लगाएकी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले रावल पक्राउ गरेको स्वीकार गरे ।
रावल आफ्ना बिरुद्ध उजुरी परेपछि सोका बारेमा बुझ्न बुधवार आफै जिल्ला प्रहरी कार्यालय कैलाली पुगेको प्रहरीले जनाइएको छ । महिलाको उजुरीपछि पक्राउ पूर्जी जारी गरेको प्रहरीले रावललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको डिएसपी बस्नेतले बताए ।













