थरुहटले अह्वान गरेको बन्द खुल्यो, सहयोग गर्नेलाई धन्यबाद
कैलाली, २१ फागुन । थरुहट थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको बन्द खुलेको छ । मोर्चाले यहि फागुन २० र २१ गते कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सप्तरी, उदयपुर सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेका थियो ।
आमहड्तालमा भौतिक, नैतिक, भावनात्मक सहयोग र समर्थन गर्ने व्यापारी, उद्योग, शिक्षणसंस्था यातायात, राजनीतिक दल आम सञ्चार, पत्रकार, सुरक्षा निकाय लगायत सम्पूर्ण सहयोगीहरुलाई विज्ञप्ती मार्फत धन्यवाद ज्ञापन गरेको छ ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय महासचिबद्धारा हस्ताक्षर विज्ञप्तीमा दुई दिने आमहड्ताल शान्तिपूर्ण ढंगले सफल भएको उल्लेख भएको छ । साथै मोर्चाको माग पुरा नभए सम्म आन्दोलन निरन्तर जारी रहने विज्ञप्तीमा लेखिएको छ ।
त्यसैगरि मोर्चाका जिल्ला संयोजक माधव थारुले राज्यले हामीसंग धेरै पटक सम्झौता गरेको छ । जुन सम्झौता निशर्तरुपमा कार्यन्वयन गर्नुपर्ने बताए । उनले थपे ‘हामीले मागेको १४ बुँदे मागलाई सरकारले न्यायिकरुपले सुनिदिनुपर्छ ।’
मोर्चाले रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै फागुन १ देखि आन्दोलनमा छ ।













