थरुहट आमहड्तालको दोस्रो दिन : सडक सुनसान, यात्रु अलपत्र

कैलाली, २१ फागुन । थरुहट थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको आमहड्तालको दोस्रो दिन पनि सडक सुनसान छ । आम हड्तालका कारण तराईको जनजीवन ठप्प भएको छ ।

कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सप्तरी, उदयपुर सहितका तराईका जनजीवन ठप्प भएको हो ।

बन्दकारण सुदूरपश्चिम प्रदेशको राजधानी पनि प्रभावित भएको छ । बन्दका कारण धनगढीबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । महेन्द्र राजमार्ग सुनसान रहेको मोर्चाका जिल्ला सदस्य मानबहादुर थारुले जानकारी दिए ।

उनले भने राजीपुरमा स्वास्थय महोत्सव भएको कारण सो क्षेत्रमा भने आंसिशक प्रभाव परेको हो । बाँकी हाइवए भने सुनसान छ । प्रहरीले स्कटिङ गरेर गाडी सञ्चालनमा ल्याएको उनले जानकारी दिए । बन्दले बजार, शिक्षण संस्था पनि पुरै बन्द छन ।

यातायातका साधन नचल्दा भारत लगायत विभिन्न ठाउँबाट आएका यात्रु धनगढीमा अलपत्र परेका छन । सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन फागुन २० र २१ गते आमहड्तालको घोषणा गरेको हो ।

आमहड्तालको समयावधिमा अतिआवश्यक सवारी साधनहरु, दमकल, एम्बुलेन्स, शव बाहन, सुरक्षा निकाय, दुध बोक्ने साधन, औषधीजन्य सवारी, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु भने निर्वाध रुपमा सञ्चालन हुन पाउने मोर्चाका कैलाली संयोजक माधव थारुले जानकारी दिए ।

रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ ।

आन्दोलनमा आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन् ।