थरुहट आन्दोलन सशक्त र आक्रमक बन्दै, महिला मोर्चाका संयोजकसहित ३ जना गिरफ्तार

धनगढी, २० फागुन । टीकापुर घटनापछि सुसुप्त अवस्थामा रहेको थरुहट आन्दोलन पुनः फागुन १ गतेदेखि सशक्त बन्दै गएको छ ।

सरकारसँग १४ बुँदे माग राख्दै चरणबद्ध आन्दोलनरत मोर्चाको आन्दोलन सशक्त र आक्रमक बन्दै गएको हो । सरकारलाई दबाब दिन फागुन २० र २१ गते आह्वान गरिएको आमहड्तालले तराईका अधिकांश जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

यसैबीच प्रहरीले प्रदर्शन तथा बजार बन्द गराउँदै हिड्ने क्रममा मोर्चाका ३ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक सुदिप गिरीले जबरजस्ती बजार बन्द गराउँदै हिड्ने क्रममा थरुहट महिला मोर्चाका केन्द्रीय संयोजक प्रेमा थारु, कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एमन चौधरीलाई नियन्त्रणमा लिएको जानकारी दिए । गिरफ्तार पर्नेहरुलाई सम्झाउने कार्य भैरहेको बताउँदै प्रहरी उपरिक्षक गिरीले गल्ती महसुस गरे, उनीहरुलाई केही समयमा छोड्ने सक्ने प्रतिक्रिया दिए ।

त्यस्तै, प्रहरीले सोमबार बेलुका कञ्चनपुरको सिसैयामा प्रदर्शनको क्रममा सञ्जय रानालाई गिरफ्तार गरेको जनाइएको छ । रानालाई प्रहरीले निर्घात कुटपिट गरेको मोर्चाको दाबी छ ।

बन्दले गर्दा कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङसहितका तराईका जनजीवन ठप्प भएको हो । बन्दकारण सुदूरपश्चिम प्रदेशको राजधानी पनि प्रभावित भएको छ । बन्दका कारण धनगढीबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन विहानैदेखि ठप्पको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । तर प्रहरीले स्कटिङ गरेर गाडी सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।

बन्दले बजार, शिक्षण संस्था पनि पुरै बन्द छन । यातायातका साधन नचल्दा भारत लगायत विभिन्न ठाउँबाट आएका यात्रु धनगढीमा अलपत्र परेका छन ।

आमहड्ताल अवज्ञा गरी सवारी साधन चलाएमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र स्वयम् रहने पनि मोर्चाले चेतावनी दिएको छ ।

आमहड्तालको समयावधिमा अतिआवश्यक सवारी साधनहरु, दमकल, एम्बुलेन्स, शव बाहन, सुरक्षा निकाय, दुध बोक्ने साधन, औषधीजन्य सवारी, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु भने निर्वाध रुपमा सञ्चालन हुन पाउने मोर्चाका कैलाली संयोजक माधव थारुले जानकारी दिए ।

रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा रहेको छ ।