थरुहटको बन्दले तराई ठप्प
धनगढी, २० फागुन । थरुहट थारुवान राष्ट्रिय मोर्चाले गरेको बन्दमा कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङसहितका तराईका जनजीवन ठप्प भएको हो ।
मोर्चाले आज र भोली थरुहट तराई जिल्लामा आमहड्तालको घोषणा गरेको छ। सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन कैलालीदेखि झापा सम्मका तराई जिल्लामा आमहड्तालको घोषणा गरेको हो।
थरुहट थारुवान मोर्चाका जिल्ला संयोजक माधब थारु मोर्चाले अह्वान गरेको बन्दले कैलाली पूर्णरुपमा ठप्प भएको जनाए । बन्दको अवज्ञा गर्नेलाई बन्दकर्ताहरुले तोडफोड, आगजनी समेत गर्न सक्ने भएकोले सबैले बन्दलाई सहयोग गरिदिन अनुरोध गरे ।
कैलालीमा विभिन्न स्थानबाट अन्यत्रका लागि सवारी साधन छुटेको छैन । धनगढी सहित विभिन्न क्षेत्रमा बजार आशिंक रुपमा भने खुलेको छ। अत्यावश्यक सेवा बाहेक यातायात, बजार, विद्यालय सबै बन्द गरिएको मोर्चाका जिल्ला संयोजक थारुले बताए।
उनले भने, ‘आमहड्तालको क्रममा कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था लगायत यातायातका साधन पूर्ण रुपमा बन्द गरेका छौँ। आमहड्ताल अवज्ञागरी सवारी साधन चलाएमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र स्वयम्ले लिनुपर्नेछ।’
आम हड्तालको समयावधिमा अतिआवश्यक सवारी साधनहरु, दमकल, एम्बुलेन्स, शव बाहन, सुरक्षा निकाय, दुध बोक्ने साधन, औषधीजन्य सवारी, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु भने निर्वाध रुपमा सञ्चालन हुन पाउने बताइएको छ।













