थरुहट राष्ट्रिय मोर्चाद्वारा बाँकेमा बृहट भेला, २० र २१ गते थरुहट तराई बन्द

कैलाली, १८ फागुन । थरुहट थारुवान राष्ट्रिय मोर्चाले शनिबार बाँकेको कोहलपुरमा वृहट गरेको छ । भेलाले यहि फागुन २० र २१ गते थरुहट तराई क्षेत्र सशक्तरुपले बन्द गर्ने निर्णय गरेको छ ।

सरकारसंग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिई माग मुद्धा पुरा गराउन दोस्रो चरणको कार्यक्रम तय गरेको हो । घोषित कार्यक्रम अन्र्तगत २० र २१ गते दुइ दिन शान्तिपूर्ण तरिकाले आम हड्ताल गर्ने कार्यक्रम घोषणा गरेको हो ।

मोर्चाका महासचिव तुलसी थारुद्वारा हस्ताक्षरित पत्रमा आमहड्तालको क्रममा कलकारखाना, उद्योग धन्दा, व्यापार, व्यवसाय, शिक्षण संस्था लगायत सवारी तथा धुवानीका सबै यातायातका साधन पूर्णतया बन्द रहने जनाएको छ ।

आमहड्ताललाई नजर अन्दाज गरि सवारी साधन चलाए वा खुलाएमा उत्पन्न हुने सबै परिस्थितिको सम्पूूर्ण जिम्मेवारी नेपाल सरकार र स्वयं रहने पनि मोर्चाले जनाएको छ ।

तर आम हड्तालको समयावधिमा अत्यावश्यक सवारी साधनहरु, दमकल, एम्बुलेन्स, शव बाहन, सुरक्षा निकाय, दुध बोक्ने, औषधीजन्य, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु निर्वाधरुपमा सञ्चालन हुन पाउने जनाएको छ ।

मोर्चाले नेता रेसम चौधरीसहित ११ जना जेलबन्दी, टीकापुर घटनाबारे सत्य तथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरीशचन्द्र लाल नेतृत्वका न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने लगायत १४ बुँदे माग राख्दै मोर्चा आन्दोलनरत रहेको छ ।