‘नयाँ पुस्ता बाह्य संस्कृति अंगाल्दा मौलिक संस्कृति खतरामा ’
धनगढी, १६ फागुन । नयाँ पुस्ताले बाह्य संस्कृति अंगाल्न थालेपछि मौलिक संस्कृति खतरामा परिरहेका छ । नयाँ पुस्तामा आयातीत संस्कृतिप्रतिको मोह बढेकाले मौलिक संस्कृति खतरामा परेको सरोकारवालाहरुको भनाई छ । धनगढीमा फागुन १४ गतेदेखि जारी विश्व नेपाली साहित्य महोत्सवमा सरोकारवालाहरुले यस्तो बताएका थिए ।
‘खतरामा छ इतिहास र संस्कृति’ विषयको छलफलमा प्राध्यापक डाक्टर प्रेम खत्रीले भने, हामीले मनाउने मेला पर्व, धार्मिक एवम् सांस्कृतिक कार्य, रितीथिति, चालचलनमा बाह्य संस्कृतिको प्रभाव बढेको छ । यस्तो हुनु मौलिक संस्कृति माथिको आक्रमण हो । उनले मौलिक संस्कृति लोप हुनेमा गहिरो चिन्ता व्यक्त गरे।
‘मौलिक संस्कृति छोड्दै नयाँ पुस्ताले बाह्य संस्कृति अंगाल्न थालेका छन् । यसले हाम्रो आफ्नो संस्कृति खतरामा परिसकेको छ,’ ‘आफ्नो कुरा छोडेर अर्काको सिको गर्ने बानीको विकास हुनु राम्रो हैन।’ मौलिक संस्कृतिको जगेर्ना गर्नमा राज्यको खासै ध्यान नपुग्दा हाम्रो संस्कृतिमाथि अतिक्रमण बढेको खत्रीले बताए। संस्कृति संरक्षणमा राज्यको ध्यान जानुपर्ने बताए ।
छलफलमा सहभागी डा. कृष्ण सर्वहारीले भाषा र साहित्य संस्कृतिको मुटु भएकाले संस्कृति जोगाउन सबैभन्दा पहिले भाषा र साहित्य जोगाउनुपर्ने बताए। ‘सबैभन्दा महत्वपूर्ण कुरा भाषा हो, भाषाको संरक्षण र प्रवर्धन गरे मात्र साहित्य र संस्कृति जोगाउन सकिन्छ,’ सर्वहारीले भने, ‘भाषाको प्रवर्धनमा सरकारले ध्यान दिएको छैन।’
सरकारले जाजजाती विशेषका संग्रहालय बनाएर मात्र भाषा संस्कृतिको जगेर्ना नहुने भन्दै सर्वहारीले भाषाको संरक्षण र प्रवर्धनमा ध्यान दिनुपर्ने बताए। सबैमा भाषिक जागरण आएमात्र भाषाको संरक्षण हुने उनको धारणा थियो।
‘विवाह, व्रतबन्ध, मृत्यु संस्कार जस्ता धार्मिक कार्यहरु गाउँघरमा थेरै खर्चमा सम्पन्न गरिन्थ्यो तर, आजभोलि पैसा धेरै खर्च गर्ने पार्टी प्यालेसको प्रचलन बढेको छ,’ सर्वहारीले भने, ‘यस्तै अर्काको सिको गर्ने बानीले हाम्रा मौलिक संस्कृति लोप हुँदै गैरहेका छन्।’
सुदूरपश्चिम साहित्य समाज धनगढीले आयोजना गरेको महोत्सव फागुन २० गतेसम्म चल्नेछ। महोत्सवमा साहित्य, कला, भाषा, संस्कृति, राजनीति, इतिहास, विकासलगायत विषयमा ४३ बढी बहस सत्र सञ्चालन हुने समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिए।
महोत्सवमा देशभित्र र विश्वका विभिन्न मुलुकका नेपाली भाषी साहित्यकारहरूको सहभागिता रहेको छ।













