खोज उद्धारकर्तालाई विपद् प्रतिकार्य तालिम

धनगढी, ६ फागुन । कैलालीको कैलारी गाउँपालिस्थित खोज तथा उद्धारकर्ता र विपद् प्रतिकार्य दलका सदस्यलाई विपद् प्रतिकार्य सम्बन्धी तालिम प्रदान गरिएको छ ।

उनीहरुको क्षमता अभिवृद्धि तथा पूर्व तयारी गर्ने उद्देश्यले कैलारी गाउँपालिका र नेपाली सेना श्री नम्बर २ विपद् व्यवस्थापन गण चितवन तथा काली रक्षा गण बढैपुरको आयोजनामा तालिम प्रदान गरिएको हो । चार दिनसम्म सञ्चालन भएको तालिमको मंगलबार एक कार्यक्रमकाबीच समापन गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि चौधरी र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले सहभागीलाई प्रमाणपत्र र प्रशिक्षकलाई प्रशंसापत्र प्रदान गरेका थिए । नेपाली सेनाका वीरेन्द्र पुनको कमाण्डमा आएको टोलीले तालिमको सहजीकरण गरेको थियो ।

तालिम समापन कार्यक्रममा गाउँपालिकाका सूचना अधिकारी यगम कलेलसहित कर्मचारीको कार्यक्रममा उपस्थिति रहेको थियो ।