थरुहट आन्दोलनकारीद्धारा गुहरी चोकमा चक्का जाम
धनगढी, ३ फागुन । थरुहट आन्दोलनकारीहरु हुलाकी राजमार्ग अन्तरगत धनगढीको क्याम्पस रोड गुरही चोकमा चोकमा चक्का जाम गरेका छन् । थरुहट/थारुवान राष्ट्रिय मोर्चाले दिउसो १ बजेदेखि सडक अवरुद्ध पारे चक्का जाम गरेको हो। यद्यपी जिल्ला प्रहरी कार्यालय कैलालीले भने सडक अवरुद्ध पारेपनि बैकल्पिक सडक भएर आवतजावत सुचारु भएको जनाएको छ।
रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ हुनुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति र गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा १ गतेदेखि आन्दोलनमा उत्रएका छन् ।
अहिले क्याम्पस चोकमै विरोध सभा समेत चलिरहेको छ। विरोध सभालाई समाजबादी पार्टीका केन्द्रीय सदस्य होरीलाल चौधरी, राजापाका केन्द्रीय सदस्य फोनिराम चौधरी लगायतले सम्बोधन गरेका छन् ।
विरोध सभालाई सम्बोधन गर्न काठमाडौंबाट वरिष्ट पत्रकार तथा विश्लेषक यूग पाठक र नागरिक समाजका वजय कर्ण धनगढी प्रस्थान भएका छन् ।













