सुदूरपश्चिमका दुई पत्रकार सामुदायिक पत्रकारिता पुरस्कार
धनगढी, ३ फागुन । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार अछामका पत्रकार मेनुका ढुंगाना र बाजुराका पत्रकार प्रकाश सिंहलाई संयुक्त रुपमा प्राप्त गर्ने भएको छ ।
एक हजार अमेरिकी डलर राशिको पुरस्कार ढुंगानाको कान्तिपुर दैनिकमा प्रकाशित ‘म छाउपडी रिपोर्टर’ र सिंहको हिमाल खबरपत्रिकामा प्रकाशित ‘कुपोषित बाजुरा’ शीर्षक आलेखले प्राप्त गरेको इन्जाले जनाएको छ।
सन् २०१९ भरीमा प्रकाशित ३ सय ५१ वटा समाचार तथा फिचर प्रतिश्पर्धामा सामेल थिए। वरिष्ठ पत्रकार तीर्थ कोइराला, टंक पन्त र किशोर सापकोटाको छनौट समितिले निर्धारण गरेको मापदण्ड अनुरुप दुवै आलेखलाई सयुक्त रुपमा पुरस्कृत गर्ने निर्णय गरिएको हो।
पत्रकार ढुंगानाको ‘म छाउपडी रिपोर्टर’ आलेखमा छाउपडी कुप्रथाले निम्त्याएको सामाजिक संकट र सो सम्वन्धी समाचार संकलनका क्रममा उत्पन्न चुनौतिहरुको चित्रण गरिएको छ। छाउपडी विरुद्धमा सक्रिय रुपमा कलम चलाउंदै आएकी ढुंगानासंग आफैपनि छाउपडीमा वसेको तीतो अनुभव छ।
पत्रकार सिंहको ‘कुपोषित वाजुरा’ शीर्षक आलेखमा वाजुरामा कुपोषणको कहाली लाग्दो चित्र प्रस्तुत गरिएको छ जसले नेपालका धेरै जिल्लाहरुको अवस्थाको प्रतिनिधित्व गर्दछ। यसैगरी एक हजार डलर राशिको इञ्जा श्रष्टा सम्मान पत्रकार, वरिष्ठ साहित्यकार ८५ वर्षीय प्राध्यापक चुडामणी रेग्मी ‘चुमरे’लाई प्रदान गर्ने निर्णय गरिएको छ।













