मर्न तयार छु तर पहिचान र अस्तित्व बेच्दैन : लक्ष्मण थारु
धनगढी, १ फागुन । थरुहट थारुवान मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले आमरण अनसन थालेका छन् । अनसन कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूहरु समानता र अधिकारका लागि बोल्न नडराउने बताए।
‘यो अनसन बन्दुक बोकेर सुरु गरेको होइन। तर हामीलाई कसैले भन्दै छन्, चन्दाको लागि कुर्सीको लागि खेल गर्दैछ रे, सबैलाई चेतना होस् हामी मर्न तयार छौँ। किनकी हामीलाई ४२ महिना जेलमा सडाइयो। हामी सबै भोग्न तयार छौ, तर हामी लाल सलाम र जय नेपाल भन्दै आफ्नो पहिचान र अस्तित्व बेच्न चाहदैनौँ अब ।’
आमरण अनसनको घोषणा गर्दै मोर्चाका संयोजक थारुले भने, ‘रेशम चौधरीलाई चुनाव लड्न दिने तर चुनाव जितिसकेपछि जेलमा हाल्ने ? कहिलेसम्म हामीलाई जेलमा राख्ने ? जेलमा हामीलाई किन राखिदैछ? किन हामीमाथि झुठा मुद्दा लगाइन्छ ? यहि हो नेपालको संविधान?’

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीसहितत ११ जना जेलबन्दीहरुको रिहाइ, ०७२ मा भएको टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्वन्यायधिश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृहमन्त्रालयद्वारा अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सार्वदलीय संसदीय समितिको प्रतिवेदनहरु सार्वजनिक गर्नलगायत माग राख्दै उनले धनगढीमा आमरण अनसन सुरु गरेका हुन्।
उनीसँगै खसान संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष रघुवीर ठगुन्ना पनि अनसनमा बसेका छन्। मोर्चाले थालेको आन्दोलनप्रति एक्येवद्धता जनाउँदै उनले अनसन थालेको जानकारी दिए। तर मोर्चा संग केही कार्यगत सहमति गर्न अझै बाँकी रहेको बताउँदै उनले २४ घण्टासम्म अनसनमै रहने जानकारी गराए। उनीहरुले बिहीबार बेलुका साढे ५ बजेदेखि अनसन सुरु गरेका हुन् ।
मोर्चाको आन्दोलन तथा अनसनलाई आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्येवद्धता जनाएको बताएका छन्।













