सडक विस्तारको लागि घर धनीले आफै भत्काए भौतिक संरचना

धनगढी, २८ माघ । हुलाकी सडक विस्तारकोलागि सडक क्षेत्रमा पर्ने भौतिक संरचनाहरु घरधनीले आफै भत्काउन थालेका छन् ।

घर धनी आफै घर भत्काउन थालेपछि सडकको स्तरबृद्धीमा सजिलो हुने धनगढी उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष सीताराम रानाले बताए । एक लेन निर्माण गरिएको सडकलाई चार लेन बनाउनकोलागि क्याम्पस रोडको गुरही चोकदेखि मनहेरा (कालिका मन्दिर) सम्मको तीन किलोमिटर सडक विस्तार गर्न गालेको रानाले बताए । उनले घरधनी आफै नै संरचना भत्काएपछि काम गर्न सजिलो भएको बताए ।

यस्तै धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सडक क्षेत्रमा पर्ने संरचना घरधनीले भत्काएर सहयोग गरेकोमा धन्यबाद ज्ञपान गरे । उनले विकास निर्माणमा यसरी नै सबै जनाको साथ र सहयोगको अपेक्षा रहेको बताए ।

६ लेन सडक बिस्तार गर्दा सडक क्षेत्रका घरहरु भत्काउन आफै डोजरमा बसेर जवरजस्ती गर्नुपरेको स्मरण गर्दै उनले भने क्याम्पस रोड मनहेरा क्षेत्रका घरधनी आफै घर भत्काउन जुटेको देख्दा खुशी व्यक्त गरे ।

सडकको स्तरबृद्धीले तत्काल घटा भएपनि दुरगामी रुपमा फाईदा नै हुन्छ नगरप्रमुख वडले भने, त्यसले विकास गर्नमा सहयोग पुग्छ । धनगढीमा भईरहेको विकासमा सहयोग गर्ने घरधनी धन्यवादका पात्र हुन ।

धनगढी मनहेराकी प्रमिला लम्सालले कुनैपनि ठाउँमा हुने विकासमा स्थानीयहरुको भूमिका महत्वपूर्ण हुने बताईन् । उनले भनिन्, घर अगाडी फराकिलो सडक भन्ने भएपछि स्वस्फूर्त रुपमा घर भत्काउने काम गरेका छौं । रेलिङ्ग भत्काई सकेको बताउदै प्रमिलाले भनिन, भोली देखि घर भत्काउन सुरु गर्छु ।

धनगढी उप–महानगरपालिका सहित जिल्लाका विभिन्न क्षेत्रमा भारतले कालोपत्रे गरेको ६९ किलोमिटर सडक खण्डलाई दुईदेखि चार लेन सम्म स्तरबृद्धी गरिदै छ । सडकको स्तर बृद्धी गरिन थालेपछि सडक क्षेत्रमा पर्ने घर संरचनाहरु भत्काउन थालिएको हो ।

सडकको क्षेत्राधिकार ३० मिटर कायम भएकाले सो आसपासमा बनेका संचरना भत्काईन लागेको हुलाकी सडक योजना कार्यालय धनगढीका ईन्जिनियर तथा सूचना अधिकारी पदम मडैले बताए । उनले भने, स्थानीयले आफ्नो संरचना आफै भत्काएर सहयोग गरेका छन् ।

अहिले धनगढी उप–महानगरपालिकाको क्याम्पस चौकदेखि मनहेरा (कालिका मन्दिर) सम्मको तीन किलोमिटर सडकलाई चार लेन सहित अन्य खण्डलाई दुई लेनमा विस्तार गर्न प्रक्रिया अगाडी बढाईएको छ । बसन्ता सम्मको २८ किलोमिटर र बसन्ता देखि शत्तीसम्मको बाँकी १३ किलोमिटर र लम्की–टीकापुर–शत्ती २८ किलोमिटर सडक खण्ड दुई लेनमा स्तरबृद्धि गर्ने तयारी भएको छ ।