सूचना प्रविधिले स्थानीय सरकारलाई जवाफदेही बनाउन सहयोग
धनगढी, २३ माघ । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप बहादुर वडले सूचना प्रविधिले स्थानीय सरकारलाई जवाफदेही बनाउन महात्वपूर्ण सहयोग खेलेको बताए । उनले प्रविधिकै कारण जनप्रतिनीधी लगायत सरकारी तथा गैरसरकारी संघ संस्थाहरु पारदर्शी भएर काम गर्न बाध्य भएको बताए ।
बिहीबार धनगढीमा भएको नेपालमा सार्वजनिक क्षेत्रको जवाफदेहिताका लागि प्रविधिको दिगो प्रयोग सुशासन प्रर्वधनमा सूचना प्रविधिको महत्व सम्बन्धमा सञ्चारकर्मीहरुसंग अन्तरक्रियात्मक गोष्ठीलाई सम्बोधन गर्दै नगरप्रमुख वडले सूचना प्रविधिले सुशासनमा अग्रणी भूमिका खेलेको बताए ।
नगरप्रमुख वडले उपमहानगरपालिकाले सूचना प्रविधिलाई अवलम्बन गरि आफ्नो डाटा पोर्टलबाट नगरसभाबाट हुने विभिन्न किसिमका निर्णय, बजेट, योजना लगायत कार्य सम्पादनका गतिविधी जनमानसमा सजिलै पु¥याइरहेको दाबी गरे ।
‘धनगढी उपमहानगरको आफ्नै डाटा पोर्टल छ’, नगरप्रमुख वडले भने–‘यसले नगरपालिकाबाट सम्पादन हुने कार्य र नगरसभाबाट पारित भएका विभिन्न किसिमका ऐन कानून, योजना छनौट, सम्झौता, बजेट, लागत स्टीमेट लगायत आम जनता डाटा पोर्टलकै माध्यमबाट जानकारी पाइरहेका छन् ।’
कार्यक्रममा ग्राम विकास तथा अनुसन्धान केन्द्र धनगढीका अध्यक्ष दीर्घराज उपाध्याय सूचना तथा प्रविधीकै माध्यमबाट जनप्रतिनीधी र स्थानीय सरकारलाई जवाफदेही र उत्तरदायी बनाउने उद्देश्य रहेको बताए ।
सुशासन परियोजनाका जिल्ला संयोजक ठाकुर करियाप्रधानले स्थानीय तहले सञ्चालनमा ल्याएका डाटा पोर्टलबारे आमजनतासामू पु¥याउन मिडियाकर्मीको महत्वपूर्ण भूमिका रहेको भन्दै सम्पूर्ण मिडियाकर्मीलाई डाटा पोर्टलबारे प्रचारप्रसार गरिदिन आग्रह गरे ।
ग्राम विकास तथा अनुसन्धान केन्द्रको आयोजना र धनगढी उपमहानगरपालिकाको सहकार्यमा भएको कार्यक्रमा विभिन्न मिडियामा आवद्ध सञ्चारकर्मीहरुको सहभागिता रहेको छ । कार्यक्रम दुईदिन सम्म सञ्चालन भएको थियो ।













