धनगढीका १८ विद्यालयमा स्वास्थ्य सेवा कार्यक्रम
धनगढी, २२ माघ । धनगढी उप–महानगरपालिकाका १८ वटा सामुदायिक विद्यालयमा स्वास्थ्य तथा नसिङ्ग सेवा कार्यक्रम लागु हुने भएको छ ।
बुधवार नेपाल सरकार स्वास्थ्य सेवा बिभाग सामाजिक सुरक्षा माहाशाखा, धनगढी उप–महानगरपालिका र सम्वन्धित विद्यालय बिच स्वास्थ्य तथा नसिङ्ग सेवा कार्यक्रम संचालनका लागि सम्झौता भएको हो ।
विद्यालय स्वास्थ्य समन्वय समितिका संयोजक सुशिला मिश्र भट्टले स्वास्थ्य तथा नसिङ्ग सेवा कार्यक्रम अन्तरगत विद्यालयमा स्टाफनर्स भर्ना गरिने बताए । स्टाफनर्सले विद्यालयमा प्रजनन् स्वास्थ्य तथा सरसफाईका बारेमा सिकाउने साथै महिनाबारी भएको बेला सरसफाईमा ध्यान दिने विधिहरु बारे जानकारी गराईने बताए ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले पहिलो चरणमा धनगढीका १८ वटा माध्यमिकतहका विद्यालयमा स्वास्थ्य तथा नसिङ्ग सेवा कार्यक्रम संचालन गर्ने र बाँकी विद्यालयमा छिटो नै विस्तार गर्ने योजना गरेको बताए ।













