सञ्चारसम्बन्धी विधेयकमा पत्रकारको विरोध, संशोधन नभए आन्दोलन गर्ने चेतावनी
कैलाली, १७ माघ । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको सञ्चार सम्बन्धी विधेयक माथि पत्रकारहरु विरोध जनाइएका छन् ।
प्रदेश सरकारले प्रदेशसभामा दर्ता गराएको ‘रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ को पत्रकार र सञ्चार उद्यमीले विरोध जनाइएका हुन् ।
अन्नपुर्ण दैनिकका ब्यूरो इन्चार्ज शिवराज भट्टले सरकारले ल्याएको विधेयक सञ्चार माध्यमलाई अङ्कुश लगाएको बताए । उनले ‘संविधानको मूल मर्म, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मान्यता विपरीत रहेको बताए ।
त्यसै गरि नेपाल पत्रकार महासंघ प्रदेश महासचिव योगेश रावलले विज्ञप्ति जारी गरी प्रेस स्वतन्त्रताको संवैधानिक मर्म र भावना विपरीत विभिन्न प्रावधानहरू रहेको भन्दै तत्काल त्यो विधेयक सच्याउन माग गरेका छन् । महासङ्घले प्रेस स्वतन्त्रता कुण्ठित हुने विषयहरू नसच्चिए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।
पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाहले विधेयक तत्काल सच्याउन माग गरे । उनले सञ्चार सम्बन्धी ल्याइएको विधेयक टुक्रा टुक्र नभएर सबै सञ्चार माध्यमलाई समेत्ने हुनुपर्ने सुझाब दिए ।
नेपालमा लोकतन्त्र र गणतन्त्र ल्याउन नेपालका स्वतन्त्र रेडियोहरूले खेलेको इतिहासलाई बिर्सँदै सङ्घीय गणतन्त्र पछि बनेको पहिलो प्रदेश सरकारले ल्याएको यो विधेयक प्रति खेद प्रकट गर्दै वानका सुदूरपश्चिम प्रदेश संयोजक ज्ञानेन्द्र महताद्वारा हस्ताक्षर विज्ञप्ति जारी भएको छ ।
वानका केन्द्रीय केन्द्रीय हरि जोशीले विधेयक भित्रका विभिन्न विषय वस्तुहरु संशोधनको माग गरे । उनले ‘गठन प्रक्रियादेखि सजाय दिनेसम्मको व्यवस्था गलत छ । पत्रकारले गल्ती गरे सजाय दिने निकाय अदालत छ । यो विधेयकले के गर्न खोजिएको हो ?’
विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपाल चौधरीले पत्रकारलाई व्यवस्थित गर्न र छाडा प्रवृती अन्त्य गर्न यो विधेयक ल्याइएको बताए । विधेयकमाथि पत्रकारहरुको आपत्ति नै छ भने समितिमा छलफल गरि संशोधन गर्न प्रस्ताव गर्ने बताए ।













