मजगाउँमा माघ महोत्सव, थारु संग्रहालयलाई पूर्णता दिन नगरपालिकाको प्रतिवद्धता

धनगढी, ८ माघ । थारु समुदायमा माघ महिनालाई नै पर्वको रुप लिने गरेका छन् । त्यही अवसरमा गोदावरी नगरपालिका वडा नं. ८ मजगाउँमा माघ महोत्सव शुरु भएको छ । महोत्सवमा थारु समुदायको सांस्कृतिक नाचगान तथा सांगीतिक कार्यक्रम भईरहेका छ ।

महोत्सवको उद्घाटन गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले गरेकी थिईन् । कार्यक्रमको उद्घाटन गर्दै उप प्रमुख कडायतले थारु संग्रहालयलाई पूर्ण रुपमा विकसित गराउन नगरपालिकाले बजेट विनियोजन गर्ने बताइन् ।

महोत्सव तीन दिनसम्म सञ्‍चालन हुनेछ। महोत्सवमा थारु समुदायका भेषभुषा, कला, संस्कृति झल्कने झाँकी, नृत्य प्रस्तुत गरिएका छन् । लामो समयदेखि हिउँदे झरी र हुस्सुले आजीत भएका कैलालीबासी बुधबार घाम लागेसँगै महोत्सव हेर्न उर्लिए।

महोत्सव तीन दिन सम्म चल्ने भएको छ । ‘थारु भाषा, संस्कृति, कला, गीतबास हमार पहिचान, अधिकार सुनिश्चितता व सम्वृद्ध समाज निर्माण करना हमार साझा अभियान’ भन्ने मुल नाराका साथ गोदावरी नगर स्तरीय माघ महोत्सव आयोजना भएको हो ।

महोत्सवको मुख्य आकर्षणको रुपमा पुरानो थारु घर, थारु कला संस्कृति हस्तकलाका विभिन्न सामग्रीहरुको प्रदर्शनी, स्थानीय झाँकीहरुको प्रवद्र्धन, थारु खानपानको व्यवस्था, थारु समाजसेवी तथा प्रतिभावान व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

महोत्सव अवधिभरि थारु महालोक गायक मनिराम चौधरी, समिक्षा चौधरी, दोषहरण चौधरी, सोनु कुश्मी, बसन्ती चौधरी र रीता चौधरीको बेजोड प्रस्तुती रहनुका साथै बर्कीमार, धमार, मांगर, सजना लगायत थारु लोक गीतसंगीतको पनि बेजोड प्रस्तुती रहने जनाइएको छ ।