कैलारी माघ महोत्सव: सांस्कृतिक टोली तथा कृषि प्रर्दशनीमा सहभागीलाई सम्मान
धनगढी, ६ माघ । कैलारी माघ महोत्सवको अवसरमा हसुलियामा भएको फुटबल पेनाल्टी सुटआउट प्रतियोगिताको विजयी खेलाडी, सांस्कृतिक टोली तथा कृषि प्रर्दशनीमा सहभागी कृषकलाई सोमबार हसुलिया पुरस्कृत सहित सम्मान गरेको छ ।
कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी नगद सहित प्रमाण पत्रले सम्मान गरेका थिए । ३५ वर्ष उमेरभन्दा माथिको भेट्रान पेनाल्टी सुटआउटको उपाधि आयोजक गुलाबी टीम एक लाख एक हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको कैलारी गाउँपालिका वडा नम्बर ४ को टोलीले ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उक्त पुरस्कार गाउँपालिका अध्यक्ष चौधरीले वितरण गरेका थिए ।

यसैगरी, ३५ वर्षमुनिको उपाधि शंकर युवा क्लब बसन्ताले नगद एक लाख एक हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै, उपविजेता बनेको कैलारी गाउँपालिका वडा नम्बर ३ भडरीले ५१ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
१५००० मिटर दौडको उपाधि भने टीकापुरका केशरसिंह मास्के मगरले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी, दोस्रो स्थान हासिल गरेका धनगढीका वीरेन्द्र भट्टराईले १५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
कार्यक्रममा पहुरा थारु दैनिकलाई पनि सम्मान गरेको छ । थारु भाषा संस्कृति संरक्षणमा विशेष योगदान प¥याए बाफत दैनिकलाई सम्मान पत्रले सम्मान गरेको हो । कैलारी माघ महोत्सव २०७६ का संयोजक पञ्चराम चौधरीले सम्मान पत्रले सम्मान गरेका थिए ।

कैलारी माघ महोत्सवको क्रममा प्रतियोगिताको आयोजना भएको थियो । सो क्रममा स्थानीय स्तरमा उत्पादित कृषि उपज, थारु खानाको परिवार, पुराना अन्नबालीको बीउ प्रदर्शनी गरिएको थियो । यसैगरी, आत्मरक्षा सम्बन्धी ‘डेमो’ पनि प्रस्तुत गरिएको थियो ।
दुई दिनसम्म सञ्चालन भएको महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका थिए । महोत्सवमा थारु समुदायको परम्परागत बड्का नाच, कठ्घोरी नाच, झुमरा, सखिया, मुङ्ग्रहुवा लगायतका ४५ वटा नाच प्रस्तुत गरिएको थियो । कैलारी गाउँपालिकाको सहकार्यमा मल्टी युथ क्लब र हिमशिर युवा क्लब हसुलियाको आयोजनामा महोत्सव भएको थियो ।














