पेनाल्टी सुटआउटको उपाधि गुलाबी टिम र शंकर क्लबलाई

धनगढी, ४ माघ । माघ पर्वको अवसरमा कैलालीको हसुलियामा भएको फुटबल पेनाल्टी सुटआउट प्रतियोगिताको उपाधि आयोजक मल्टि युथ युवा क्लब तथा हिमशिखर र शंकर युवा क्लब बसन्ताले जितेको छ ।

३५ वर्ष उमेरभन्दा माथिको भेट्रान पेनाल्टी सुटआउटको उपाधि आयोजकको गुलाबी टिमले जितेको हो । विजेता टिमले एक लाख एक हजार १११ रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता बनेको कैलारी गाउँपालिका वडा नम्बर ४ को टोलीले ५५ हजार ५५५ रुपैयाँ पुरस्कारमा चित्त बुझाएको छ ।

यसैगरी, ३५ वर्षमुनिको उपाधि शंकर युवा क्लब बसन्ताले जितेको छ । विजेता बनेको शंकर युवा क्लबले नगद एक लाख एक हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै, उपविजेता बनेको कैलारी गाउँपालिका वडा नम्बर ३ भडरीले ५१ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

१५००० मिटर दौडको उपाधि भने टीकापुरका केशरसिंह मास्के मगरले जितेका छन् । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यसैगरी, दोस्रो स्थान हासिल गरेका धनगढीका वीरेन्द्र भट्टराईले १५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

कैलारी माघ महोत्सवको क्रममा प्रतियोगिताको आयोजना भएको थियो । सो क्रममा स्थानीय स्तरमा उत्पादित कृषि उपज, थारु खानाको परिवार, पुराना अन्नबालीको बीउ प्रदर्शनी गरिएको थियो । यसैगरी, आत्मरक्षा सम्बन्धी ‘डेमो’ पनि प्रस्तुत गरिएको थियो ।

दुई दिनसम्म सञ्चालन भएको महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका थिए । महोत्सवमा थारु समुदायको परम्परागत बड्का नाच, कठ्घोरी नाच, झुमरा, सखिया, मुङ्ग्रहुवा लगायतका ४५ वटा नाच प्रस्तुत गरिएको थियो ।

कैलारी गाउँपालिकाको सहकार्यमा मल्टि युथ युवा क्लबले महोत्सवको आयोजना गरेको हो । वर्षाले प्रभावित गरे पनि महोत्सव सफलतापूर्वक सम्पन्न भएको आयोजक मल्टि युथ क्लबका अध्यक्ष पञ्चराम चौधरीले बताए । उनले महोत्सव आयोजनामा नेपाल प्रहरीबाट धेरै ठूलो सहयोग पाएको बताए ।