कैलारी गाउँपालिकाद्वारा माघ पर्वमा तीन दिन बिदा

धनगढी, २९ पुस । कैलालीको कैलारी गाउँपालिकामा माघ पर्वको अवसरमा तीन दिन बिदा गरिएको छ । गाउँपालिकाले माघ १, २ र ३ गते बिदा दिएको हो । माघ १ गते प्रदेश सरकारले नै बिदा दिएको छ भने दुई दिन गाउँपालिकाले बिदा थपेको छ ।

थारु समुदायको बाहुल्यता रहेको सो गाउँपालिकामा करिब ९३ प्रतिशत थारु समुदायको बसोबास छ । माघ थारु समुदायको नयाँ वर्ष र सबैभन्दा ठूलो पर्व हो । सोमबार बसेको गाउँसभाको बैठकले माघ पर्वको लागि तीन दिन बिदा दिने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेपछि सोही अनुसार बिदा गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए ।

यसैगरी, गाउँसभाको बैठकमा कैलारी खेलकुद सञ्चालन कार्यविधि २०७६ माथि दफावार छलफल भएको छ । सोमबारको बैठकमा भागुदास चौधरी, प्रेमबहादुर चौधरी, कैलाश चौधरी, विष्णुप्रसाद चौधरी र कमलप्रसाद चौधरीले छलफलमा भाग लिएका थिए । उनीहरुले युवा तथा खेलकुद कार्यक्रमको बारेमा बोेलेका थिए ।

गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बसेको बैठकमा बाँकी विधेयकलाई माघ १२ गते बस्ने गाउँसभाको बैठकमा विधेयक समितिले अगाडि बढाउने प्रस्ताव स्वीकृत भएको जनाइएको छ ।

गाउँसभा बैठकमा उपाध्यक्ष लक्ष्मी सत्गौंवा, गाउँसभा सदस्यहरु, प्रमुख प्रसाशकीय अधिकृत खगेन्द्रराज जोशी, सूचना अधिकारी यगम कलेलसहित कर्मचारीको उपस्थिति रहेको थियो ।