दलित भन्ने थाहा पाएपछि बुहारीको हत्या, ३ जना जेल चलान

काठमाडौं, २३ । उदयपुरगढी ५ बाहुनीटारका १९ वर्षिय संगीता विश्वकर्मा र गोविन्द कार्कीबीच टेलिफोन संवादबाट प्रेम सम्बन्ध भएर विवाह भयो । गोविन्दले संगीताको थर सोध्दा उनले ‘मगर’ भनेकी थिइन् । उनीहरुले भागेर विवाह गरेका थिए ।

परिवारले पनि स्वीकार गरे । तर केही समय घरमै संगीता विश्वकर्मा भएको थाहा भएपछि परिवारले गोविन्दलाई फकाइफुल्याइ गरि संगीतालाई मार्ने योजना बनाए ।

२०७४ साल कात्तिक १४ गते संगीताको शव सिम्लेको एक जंगलमा फेला पर्यो । बिहे गरेको १५ दिनमै उनको शव फेला परेको थियो । झुण्ड्याएर हत्या गरी मान्छे नचिनियोस् भनेर उनीहरूले संगीताको अनुहारमा एसिड पनि छ्यापिदिएका थिए ।

शव फेला पर्ने बित्तिकै माइती पक्षले तीनै जनाविरूद्ध किटानी जाहेरी दिएका थिए । जाहेरीपछि प्रहरीले लामो समय अनुसन्धान गर्यो । तर, प्रतिवादी पक्राउ परेका थिएनन् ।

उदयपुरका प्रहरी नायब उपरिक्षक प्रेमसागर केसीका अनुसार उनीहरू सबै भागेका थिए । भाग्नेबित्तिकै शंका उनीहरूतिरै बढी केन्द्रित भएको थियो । केही समय श्रीमान, ससुरा र देवर दार्जिलिङ गएका थिए । गत मंसिर २२ गते मनबहादुर कार्की (देवर) घरमा रहेको थाहा पाएपछि प्रहरी उनलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको केसीले बताए ।

उनको बयानबाट नैनबहादुर कार्की (ससुरा) र गोविन्द कार्की (श्रीमान) काठमाडौंमा रहेको पत्ता लाग्यो । दुवैलाई प्रहरीले काठमाडौंको कपनबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेपछि उनीहरूले घटना कबुल गरेको उपरिक्षक केसीले बताए । तीनै जना पुर्पक्षकालागि उदयपुर कारागार चलान भएका छन् ।