‘बादलभित्रको घाम’ साहित्य पुरस्कार दामोदर पुडासैनीलाई
कैलाली, २३ पुस । ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ दामोदर पुडासैनी ‘किशोर’ को कवितासङ्ग्रह ‘शहरबिनाको शहर’ कृति पुरस्कृत हुने भएको छ ।
सो कृति शमी साहित्य प्रतिष्ठानद्वारा स्थापित रु एक लाख ११ हजार १ सय ११ रुपैयाको पुरस्कार प्राप्त गर्ने भएको छ । पुरस्कारका लागि विसं. २०७५ सालमा प्रकाशित भएका मध्ये प्रतिष्ठानलाई प्राप्त ८४ कृतिमध्येबाट उत्कृष्ट पाँच हुँदै छनोटमा परि उक्त कृति पुरस्कृत हुने भएको हो ।
स्तरीयता, मौलिकता, विधागतस्वरुप र राष्ट्रियता आदि आधारमा सो कृति छानिएको प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले जानकारी दिए ।
प्रतिष्ठानका संरक्षक एवं निबन्धकार डोलिन्द्रप्रसाद शर्माको निबन्धसङ्ग्रह ‘बादलभित्रको घाम’ पुस्तकको बिक्रीबाट प्राप्त रकम अक्षयकोषमा राखी यसै वर्षदेखि उक्त पुरस्कार स्थापना गरिएको छ ।
पुडासैनीको कृतिमा मधेस तराई गाथा र आत्मिक प्रेम वर्णन भएकाले छनोट गरिएको पुरस्कार चयन समितिका संयोजक डा देवीप्रसाद गौतमले बताए ।
पुरस्कृत कृतिसहित अम्बिका अर्यालको उपन्यास अबिश्रान्त ,नरेन्द्रराज पौडेलको निबन्धसङ्ग्रह ‘आकाशको डर’, दिलीप शाहको कथासङ्ग्रह ‘चियर्स’, लक्ष्मण पौडेलको उपन्यास ‘सुनपानी’ उत्कृष्ट पाँचमा परेका थिए ।
‘बादलभित्रको घाम’ पहिलो संस्करणमै १३ हजारप्रति र पुनः मुद्रण गरी १२ हजारप्रति प्रकाशन भएको थियो । पुरस्कारको अक्षयकोषमा रु ५० लाखसम्म जम्मा गर्ने लक्ष्यानुसार हालसम्म सो पुस्तक बिक्रीबाट रु १७ लाख हस्तान्तरण गरिएको छ । पुरस्कार आगामी फागुन १८ गते प्रदान हुने जनाएको छ ।













