‘खराब नियत भएको ठाँउमा सूचना लुकाउछन्’

धनगढी, २० पुस । सरकारी कार्यालयको कामकाजमा हुने अनियमितता बाहिर आउने डरले अहिलेसम्म सूचना नपाइने प्रवृति कायमै रहेको एक कार्यक्रमका सहभागीहरु गुनासो गरे ।

आईतबार धनगढीमा ग्राम विकास तथा अनुसन्धान केन्द्रको आयोजनामा ‘महिला तथा सिमान्तकृत वर्ग समुदायको निर्णय प्रक्रियामा सार्थक सहभागिता’ विषयक वकालत अभियान कार्यक्रममा संचारकर्मीहरुले सरकारी कार्यालयमा सहजै सूचना पाउन नसकिएको गुनासो गरेका थिए ।

अन्नपूर्ण दैनिक सुदूरपश्चिम प्रदेश संयोजक शिवराज भट्टले सबै कार्यालयमा सूचनाको हक प्रयोग गर्दा सूचना माग गरेपनि पुरा सूचना नपाएको बताए । उनले भने –‘संचारकर्मीहरुलाई सहजै सूचना पाईदैन भने सर्बसाधारणलाई भने झन कस्तो होला !’

ग्राम विकास तथा अनुसन्धान केन्द्र धनगढीका अध्यक्ष दिर्घराज उपाध्यायले सहजै सूचना पाउनु सबैको अधिकार रहेको भएपनि सूचना नपाईनु दुर्भाग्य भएको बताए । उनले सूचनाको हक (आरटी आइ)को प्रयोग गरेर सूचना माग गरे सूचना अधिकारीहरुले सूचना दिनुपर्ने कानून रहेको बताए ।

धनगढी उपमहानगरपालिकाका प्रशासकीय अधिकृत तथा सूचना अधिकृत सुरेन्द्रसिंह कार्कीले खराब नियत रहेका कारण सूचना लुकाइने गरिएको बताए । उनले भने ‘धनगढी उपमहानगरपालिका अहिलेसम्म कुनै सूचना लुकाएको छैन, दिन मिल्ने सबै सूचना जुनसुकैबेला दिन तयार छौं ।’

उनले धनगढी उपमहानगरपालिका सूचनामैत्री नगरपालिका बनिसकेको बताउ“दै अहिलेसम्म चार वडा कार्यालयमा प्रविधि जोडेर सूचना केन्द्र संचालन भएको र १९ वडामा प्रविधि जोडेर सूचनाको हकलाई सफल बनाउने लक्ष्य रहेको बताए ।

निर्वाचन कार्यालय धनगढीका जिल्ला निर्वाचन अधिकृत प्रेम भट्टले महिला तथा सिमान्तकृत वर्ग समुदायको निर्णय प्रक्रियामा पुग्न नसकेको बताए । उनले सुचना अधिकारी र कार्यलय प्रमुख विच समन्वय नहुदा मागेका सूचनाहरु पाउन नसकेको बताए ।

अधिकृत भट्टले धेरै कार्यालयहरुमा अहिलेपनि नाम मात्रका सुचना अधिकृत राखिएको गुनासो गर्दै प्रत्येक कार्यालयका सूचना अधिकारी र कर्मचारीहरुलाई एकै ठाँउमा राखेर सूचनाको हकबारे अन्तरक्रिया गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा पत्रकार उन्नती चौधरीले सूचनाको हक, सूचना मग्दा प्रयोग गर्नुपर्ने प्रक्रियाबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको संचालन ग्राम विकास तथा अनुसन्धान केन्द्रका जिल्ला संयोजक ठाकुर प्रसाद करियाप्रधानले गरेका थिए ।