हसुलिया–मसुुरिया सडक चाडै कालोपत्रे हुन्छः सांसद चौधरी

कैलारी गाउँपालिकाको हिउँदे अधिवेसन शुरु

धनगढी, २० पुस । कैलारी गाउँपालिकाको पाँचौ अर्थात हिउँदे अधिवेसनमा संघीय सांसद एवम् पूर्वमन्त्री गौरीशंकर चौधरीले हसुलिया–मसुुरिया सडक चाडै कालोपत्रे हुने बताए ।

उनले अधिवेसनको उद्घाटन गर्दै कैलारी गाउँपालिकामा विकासको गतिविधि बढेको बताए । साथै तीन तहकै सरकारले मिलेर पाँच वर्षमा विकासको नयाँपन दिने उल्लेख गरे ।

चौधरीले भने–‘जनताको चाहनानुसारको धेरै काम भइरहेको छ । यद्यपि, अझै पनि धेरै काम गर्न बाँकी छ ।’ उनले ग्रामीण क्षेत्रसंग सरोकारित हुलाकी राजमार्ग स्तरोन्नतिको प्रक्रिया अगाडि बढेको जानकारी दिए । ‘बसन्ता वन क्षेत्रमा हुलाकी राजमार्ग विस्तारको लागि रुख कटानको आदेश प्राप्त भइसकेको छ’, चौधरीले भने–‘अब केहि दिनभित्रै रुख कटानको काम भइ हुलाकी राजमार्ग निर्माणको काम पनि अगाडि बढ्नेछ ।’

वन क्षेत्रको दुई किलोमिटर खण्डमा रुख कटान नहुँदा सो ठाउँमा हुलाकी सडक निर्माण कार्य सुरु हुन सकेको छैन । दुई किलोमिटरमा १२१ रुख काट्नु पर्ने भएको चौधरीले बताए ।

यसैगरी, कैलारी गाउँपालिकामा विद्युतीकरण हुन बाँकी रहेको ठाउँमा चाँडै विद्युत पुग्ने, हुलाकी राजमार्ग र पूर्व–पश्चिम महेन्द्रराजमार्ग जोड्ने हसुलिया–मसुुरिया सडक कालोपत्रे हुने बताए ।

‘यो वर्ष सङ्घीय र स्थानीय सरकारको गरेर यो सडकमा ६० लाख रुपैयाको काम हुँदैछ’, उनले भने–‘अब आफ्नो गाउँठाउँ आफै बनाउनतर्फ हामी सबै लाग्नु पर्दछ ।’ चौधरीले मोहना नदी पारि रहेका गाउँहरुको बासिन्दाको आवत जावत सहज बनाउनका लागि झोलुङ्गे पुल निर्माणको प्रक्रिया अगाडि बढि सकेको जनाए ।

वडा नम्बर ३ स्थित मोहना नदी पारि रहेको शिवरत्नपुर गाउँका स्थानीयका लागि खोनपुर घाटमा प्रदेश सरकारको लगानीमा झोलुङ्गे पुल निर्माण हुने प्रक्रिया अगाडि बढेको र हौसलपुरका स्थानीयका लागि सङ्घीय सरकारको लगानीमा झोलुङ्गे पुल निर्माण हुने जनाइएको छ । झोलुङ्गे पुल निर्माणको लागि डीपीआर भइसकेको छ ।

बैठकमा उपाध्यक्ष लक्ष्मी सत्गौंवा, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र जोशी, सामाजिक विकास शाखा अधिकृत यगम कलेल, गाउँसभा सदस्य लगायतको उपस्थिति रहेको थियो ।