थारु भाषा, संस्कृति जगेर्नाको लागि माघ महोत्सव
धनगढी, १९ पुस । थारु भाषा, संस्कृति, लोक कला जगेर्ना गर्ने उद्देश्यले गोदावरी नगरपालिका–८, मजगाउँमा माघ महोत्सव २०७६ हुने भएको छ ।
थारु कल्याणकारिणी सभा गोदावरी नगर समिति कैलालीको आयोजनामा अगामी माघ ८, ९ र १० गते तीन दिने माघ महोत्सव हुने शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । ‘थारु भाषा, संस्कृति, कला, गीतबास हमार पहिचान, अधिकार सुनिश्चितता व सम्वृद्ध समाज निर्माण करना हमार साझा अभियान’ मुल नाराका साथ गोदावरी नगर स्तरीय माघ महोत्सव आयोजना हुने भएको हो ।

थाकस जिल्ला उपसभापति माधव चौधरी थारु भाषा, संस्कृति, लोक कला, गीतबासलाई जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए । महोत्सवको मुख्य आकर्षणको रुपमा पुरानो थारु घर, थारु कला संस्कृति हस्तकलाका विभिन्न सामग्रीहरुको प्रदर्शनी, स्थानीय झाँकीहरुको प्रवद्र्धन, थारु खानपानको व्यवस्था, थारु समाजसेवी तथा प्रतिभावान व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
यस्तै महोत्सवमा थारु महालोक गायक मनिराम चौधरी, समिक्षा चौधरी, दोषहरण चौधरी, सोनु कुश्मी, बसन्ती चौधरी र रीता चौधरीको बेजोड प्रस्तुती रहनुका साथै बर्कीमार, धमार, मांगर, सजना लगायत थारु लोक गीतसंगीतको पनि बेजोड प्रस्तुती रहने जनाइएको छ ।

थारु कल्याणकारिणी सभा गोदवरी नगर समिति अध्यक्ष जनकलाल चौधरीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरि महोत्सव भब्यताका साथ सम्पन्नका लागि विभिन्न उपसमिति समेत गठन गरिएको उपसभापति चौधरीले जानकारी दिए । जसमा रजनी चौधरीको संयोजकत्वमा आर्थिक समिति, माधव चौधरीको संयोजकत्वमा प्रचारप्रसार समिति, सुन्दर चौधरीको संयोजकत्वमा कलाकार समिति, खडक चौधरीको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, रामप्रसाद चौधरीको संयोजकत्वमा झाँकी व्यवस्थापन र टिकासिंह चौधरीको संयोजकत्वमा युवा परिचालन समिति गठन गरिएको छ ।

विगत ७ वर्ष देखि साविकको श्रीपुर गाविस अन्र्तगत विभिन्न वडामा थारु समुदायको महान पर्व माघको उपलक्ष्यमा माघी मिलनको रुपमा कार्यक्रम गर्दै आएको उपसभापति चौधरीले बताए । तर विगत ३ वर्ष देखि माघ महोत्सवको रुपमा आयोजना गर्दै आएको समेत उनले कार्यक्रममा जानकारी गराए ।
गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउदद्वारा महोत्सवको उद्घाटन हुने आयोजकले जनाएको छ ।













