भादा महोत्सव थारू परिकार र संस्कृतिले भरिपुर्ण

कैलाली, १७ पुस । नेपाल भ्रमण वर्षको शुभराम्भमा कैलालीको थारू होम–स्टे गाउँ भादामा महोत्सव शुरु भएको छ । भादा गाउँमा आन्तरिक तथा बाह्रय पर्यटकहरु भित्रियाउन थारू परिकार र संस्कृतिले भरिपुर्ण छ ।

धनगढी उपमहानगरपालिका–१६ थारू होम स्टे गाउँ भादामा सञ्चालित महोत्सव भित्र थारू परिकार, थारू कला, संस्कृतिको अवलोकन गर्न सकिन्छ । विशुद्ध थारू समुदायको मात्रै बासोबास भएको भादा गाउँमा पुस १६ देखि २० गतेसम्म महोत्सव सञ्चालन भएको छ ।

थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीका अनुसार होमस्टेको सञ्चालनपछि थारू परिकार, कला, संस्कृति, भेषभुषा तथा रहनसहनको संरक्षण तथा प्रवर्द्धन भएको बताए ।

व्यावसायिकताले स्थानीयको जिविकोपार्जनमा पनि सुधार आएको देखिन्छ । उनले महोत्सव अवधिभरि थारू समुदायको मौलिक संस्कृति सखिया, झुम्रा, मघौटा, लठ्ठी, बैठक्की नाँच प्रदर्शन भईरहेको बताए ।

स्टलमा थारू महिलाहरु लेहंगा चोलीया र थारू गरगहनामा सजिएर मौलिक परिकार ढिक्री, खरिया, फुलौरी, अण्डीक् भात, खुर्मा, पनझझरा, कचरीक् बरिया, घोंघी, गेङटा, सुटही, मुसाको सेकुवा, सिध्रा माछा, महुँवाको रक्सी, चामलको रक्सीले पाहुनाहरुलाई सेवा दिईरहेको बताए ।

यतिमात्रै होइन, स्थानीयले पर्यटकलाई गाउँको रमणीय वातावरणको अवलोकन गराउन थारू समुदायको परम्परागत लहरूमा शैयर गराउँदै आएका छन् ।