थारु देउथानको जग्गा चपेटामा

कैलाली, १६ पुस । धनगढी उपमहानगरपालिका वडा नं. ५ स्थित तारानगरको थारु देउथानको जग्गा अतिक्रमणको चपेटामा परेको छ ।

देउथानको नाममा रहेका १ विघा १५ कठ्ठा जमिन रहेको छ । देउथान घेरबार नहुुँदा उक्त जग्गा अतिक्रमणमा परेको तारानगरका भलमन्सा गोठु थारुले बताए । विगत देखि जसोतसो संरक्षण गरि आएको देउथान घेरबार नहुँदा दिनदिनै अतिक्रमण हुँदै गएको भलमन्सा थारुले बताए ।

आर्थिक बर्ष २०७५/०७६ मा देउथानको गेट निर्माणका लागि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय दूई लाख रुपैया विनियोजन गरेको भलमन्सा थारुले बताए । तर उक्त रकम असार २० गते भित्रै खर्च गर्नुपर्ने हुँदा सम्झौता भएको सबै रकम निकासा हुन नसकेको उनले बताए ।

थारुले निर्माणाधिन गेटमा पर्यटन मन्त्रालयबाट निकासा भएको १ लाख ४० हजार र आफ्नो व्यक्तिगत रु. ५० हजार रकम लगाई सकेको बताए । उनले अझै गेट निर्माणका लागि एक लाख रकम लाग्ने हुँदा देउथान घेरबार र संरक्षणका लागि प्रदेश र स्थानीय सरकारलाई आवश्यक बजेट विनियोजन गरिदिन आग्रह गरे ।

देउथान घेरबार भएपछि क्रमशः देउथानको स्तरोन्नति गरि देउथानको परिसरमै थारु संग्राहलय बनाउने योजना रहेको भलमन्सा थारुले बताए ।