चिसो बढेपछि कैलारीका ज्येष्ठ नागरिकले पाए कम्बल
कैलाली, १३ पुस । कैलालीमा चिसो बढेपछि कैलारी गाउँपालिकाका ज्येष्ठ नागरिकले कम्बल पाएका छन् । गाउँपालिकाको कार्यालयले आइतबार ३६ जना ज्येष्ठ नागरिकलाई सम्मानसहित कम्बल वितरण गरेको हो । उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुको साथै एक÷एक वटा कम्बल (ब्ल्याङकेट) र सल पनि प्रदान गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । उपाध्यक्ष सत्गौवाले वडा नम्बर ५ का ११२ वर्षीया चक्रीदेवी चौधरी र वडा नम्बर २ का ९१ वर्षीया मनसरा ठकुल्लालाई कम्बल वितरण गरेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।
गाउँपालिकाको महिला विकास शाखामार्फत प्रत्येक वडाका चार÷चार जनालाई ज्येष्ठताको आधारमा कम्बल वितरण गरिएको जनाइएको छ । बाँकी रहेका ज्येष्ठ नागरिकलाई प्रत्येक वडाले वडा कार्यालयमार्फत कम्बल वितरण गरिने आर्थिक विकास समितिका संयोजकसमेत रहेका वडा नम्बर ३ का वडा अध्यक्ष कैलाश चौधरीले जानकारी दिए ।
लक्षित वर्गको कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकलाई न्यानो वितरण गरिएको जनाइएको छ । जाडोको बेला ज्येष्ठ नागरिकलाई बढी समस्या हुने गरेकाले नीति अनुसार गाउँपालिकाको कार्यालयले उनीहरुलाई सम्मानसहित कम्बल दिएको चौधरीले जनाइन् ।
कम्बल वितरण तथा सम्मान कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवाले ज्येष्ठ नागरिकहरुको सम्मान स्वरुप गाउँपालिकाले कम्बल वितरण गरेको उल्लेख गरिन् । उनले ज्येष्ठ नागरिकको सम्मान र संरक्षण गर्नु स्थानीय सरकारको दायित्व रहेको चौधरीको बताइन् ।
६० वर्ष उमेर पुगेका सक्रिय ज्येष्ठ नागरिकलाई आयआर्जनमा अग्रसर गराउने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार ज्येष्ठ नागरिकको सशक्तिकरण गरिने प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र जोशीले बताए ।
सम्मान तथा कम्बल वितरण कार्यक्रममा सबै वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा आठ जना ज्येष्ठ नागरिक उपस्थित हुन नसकेपछि उनीहरुलाई पछि सम्मानसहित कम्बल वितरण गर्ने जनाइएको छ ।













