कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गर्न किसानलाई पावर ट्रिलर

कैलाली, ११ पुस । कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यले कैलारी गाउँपालिकाले किसानलाई पावर ट्रिलर वितरण गरेको छ ।
गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उनीहरुलाई पावर ट्रिलर वितरण गरेको हो । यसवर्ष २१ जना किसानलाई पावर ट्रिलर वितरण गर्ने योजना अन्तर्गत शुक्रबार १८ जना किसानलाई पावर ट्रिलर हस्तान्तरण गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी र उपाध्यक्ष लक्ष्मी सत्गौंवाले एक कार्यक्रमकाबीच किसानलाई पावर ट्रिलर हस्तान्तरण गरे । सो अवसरमा अध्यक्ष चौधरीले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गर्न आवश्यक रहेको बताए । परम्परागत र निर्वाहमुखी कृषिले केही नहुने उल्लेख गर्दै उनले भने–‘गाउँपालिकाको कार्यालयले कृषिलाई आधुनिक बनाउने नीति अबलम्बन गरेको छ ।’

पावर ट्रिलरका लागि ९४ हजार रुपैयाँ किसानले र बाँकी रकम गाउँपालिकाको कार्यालयले ब्यहोरेको जनाइएको छ ।

गाउँपालिकाले कृषिमा आधुनीकिरण र यान्त्रिकीकरण गर्ने लिएको नीति अनुरुप किसानलाई कृषि यन्त्र उपलब्ध गराएको आर्थिक विकास समितिका संयोजक एवम् वडा नम्बर ३ का वडा अध्यक्ष कैलाश चौधरीले बताए । ‘यो वर्ष २१ जना किसानका लागि पावर ट्रिलर खरिद भएको छ’, उनले बताए–‘तीन जना किसानले बैङ्क भौचर नबुझाएकाले उनीहरुलाई पछि विरण हुन्छ ।’

गाउँपालिकाको कार्यालयले चालु आर्थिक वर्षमा पावर ट्रिलर खरिदका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । व्यावसायिक तरिकाले कृषिको काम गर्दै आएका व्यक्ति र समूहलाई पावर ट्रिलर दिइएको जनाइएको छ ।

यसअघि, साना सिँचाइ कार्यक्रम अन्तर्गत सो गाउँपालिकाले ३६ जना किसानलाई पम्पसेट वितरण गरेको थियो । कैलारी गाउँपालिकामा कृषि नै मुख्य पेसा रहेको छ ।