विकासमा महिला, मजदुरीबाटै परिवार धान्दै

डडेल्धुरा, ५ पुष । विकास निर्माणमा महिलाहरुको कति योगदान छ भन्ने कुराको पात्र बन्दै छन् डडेलधुराबासी महिलाहरु । स्थानीय तह गठनपछि यहाँका महिलाहरु विकास निर्माणको काम गर्दै सिंगो परिवार नै धान्दै आएका छन् ।

पछिल्लो अवस्थामा महिलाका लागि विकास निर्माणका काम रोजगारीको अवसर बनेको छ । प्रायः चुल्हो चौकामा सीमित रहेका महिला आर्थिक आयआर्जन तर्फ केन्द्रीत हुदैछन् ।

गन्यापधुरा २ कि देवकी दैनिक ५८० रुपैयाँ मजदुरीबाट कमाउँछिन् । श्रीमान रोजगारीका लागि भारतमा छन् । सासु ससुरा र दुइ छोराछोरीको जिम्मा उनकै का“धमा छ । तीन वर्ष अघिसम्म गुजारा गर्न कठिन हुने परिवारमा अहिले खाना लाउन सहज भएको छ ।

छोरा छोरीको पढाइ खर्च नहु“दा जेठो छोराले ८ कक्षा बढी पढ्न पाएन । तीन वर्ष यता भने देवकी आत्मनिर्भर भएकी छिन । ‘महिनामा १८, २० दिन मजदुरी पाइन्छ’, देवकीले भनिन् ‘मजदुरी पनि विगत भन्दा तेब्बर वढी पाइन्छ श्रीमानले खर्च नपठाएपनि आफ्नै कमाइले घर धान्न सकेको छु । ’

कोटेली कि जयमति लुहारले मजदुरी गरेर श्रीमानको ऋण चुक्ता गरिन् । लामो समय बिरामी भएर मृत्यु भएका श्रीमानको उपचारमा लागेको दुई लाख ऋण मजदुरी गरेर तिरेको बताईन् । गाउ“मा आउने हरेक योजनामा उनी मजदुरी गर्न जान्छिन् ।

३ छोरा छोरीलाई उनले नजिकैको विद्यालयमा भर्ना गरेकी छिन । ‘सानो छोरा बोर्डिङ्घमा भर्ना गरेकी छु’ जयाले भनिन–‘अहिलेको जस्तो मजदुरी पाइने भए श्रीमानलाई जोगाउन सक्थे होला ।’ बर्षातका दुई महिना बाहेक प्रायः हरेक महिना १५/२० दिन काम मजदुरी पाईन्छ जयमतिले भनिन–‘कुनै न कुनै योजनामा काम खुलीरहन्छ । घर खर्च कटाएर दैनिक डेढ दुई सय रुपैंया बचत पनि हुने गरेको छ ।’

ग्रामिण क्षेत्रमा निर्माण भइरहेका सडक, खानेपानी , मठ मन्दिर मर्मत निर्माण, सि“चाई, गोरेटा बाटा, पोखरी निर्माण देखि विभिन्न पूर्वाधार निर्माणमा सहज रुपमा मजदुरी पाउन थालेपछि ग्रामिण क्षेत्रका महिला आर्थिकरुपमा आत्म निर्भर भईरहेकाछन् ।

अधिका“स युवा रोजगारीका लागि तेस्रो मुलुक छन । तेस्रो मुलुक जान नसक्नेहरु भारतका विभिन्न शहरमा छन् । तर महिलाहरु विकास निर्माणमा आफ्नो भविष्य खोजिरहेका छन् ।

समाजिक कार्यकर्ता शान्ती जोशीले भनिनर ‘निरक्षर महिलाहरुले पनि बैंकमा खाता खोली बचत गर्ने बानी बसाईसरहेका छन् । विकास निर्माणका उपभोक्ता समितिको नेतृत्वमा आउन होडबाजी छ । ’ निर्माण व्यवसायी नरेन्द्र जोराले भने ‘जिम्मेवारी अनुरुप समयमा गुणस्तरीय काम गर्नमा महिला निकै अगाडि छन् ।’

गाउ“पालिकामा गत आर्थिक बर्षको उत्कृष्ट काम भएको भन्दै अजयमेरु २ का बसन्ती ऐर अध्यक्ष रहेको उपभोक्ता समिति पुरुस्कृत भएको पनि बताए । दुई सय भन्दा बढी योजनामध्ये महिलाले नेतृत्व गरेको उपभोक्ता समिति उत्कृष्ट भएको जोराले बताए ।

उनीहरु जस्ता थुप्रै महिला घरको जिम्मेवारी पनि पुरा गरिरहेका छन् र आर्थिक आयश्रोतपनि जुटाईरहेका छन् । अहिले महिलाहरु मजदुरी गरेर पैसा मात्रै कमाउने काम गरेका छैनन्, विकास निर्माणमा उनीहरुको उत्तिकै योगदान जोडिएको छ ।