माघ विशेषः थारु साँस्कृतिक प्रदर्शनी तथा पेनाल्टी सुटआउट हुने

कैलाली, १ पुस । थारु सांस्कृतिक तथा झाँकी नाचगान र आपसी भाईचारा साटासाट गर्न हसुलियामा माघ विशेष कार्यक्रम हुने भएको छ । थारु समुदायको नयाँ वर्ष एवम् महान पर्व माघको अवसरमा दोस्रो थारु साँस्कृतिक प्रदर्शनी तथा पेनाल्टी सुटआउट हुने आयोजकले जनाएको छ ।

माघ पर्वलाई विशेष तथा उपलब्धीमूलक बनाउनका लागि कैलारी गाउँपालिकाको सहकार्यमा मल्टी यूथ क्लब र हिमशिखर क्लब हसुलियाले दोस्रो पटक दुइ दिने थारु साँस्कृतिक प्रदर्शनी गर्न लागेको हो ।

थारु बहुल क्षेत्र हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा माघ २ र ३ गते हुने कार्यक्रमको उद्घाटन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गरिने मूल आयोजक समितिले मंगलबार विहान धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

साँस्कृतिक प्रदर्शनीसंगै फुटबल पेनाल्टी सुटआउटको कार्यक्रम समेत गर्ने समितिले जनाएको छ । ‘हमार कला, संस्कृति हमार पहिचान, समृद्ध बनाइक लाग आवश्यक बा अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिने कार्यक्रममा परम्परागत र आधुनिक झुमरा, सखिया नाच, बड्का नाच, मुङ्ग्रहुवा नाच, लठ्ठहुवा नाच, धमार, मघौटा, राना थारु र कठरिया थारु होरी नाच लगायतका साँस्कृतिक कार्यक्रम रहने पत्रकार सम्मेलनमा जनाइएको छ ।

परम्परागत थारु संस्कृतिको संरक्षण तथा प्रवद्र्धन, हसुलिया बजारको प्रवद्र्धन गर्ने र स्वस्थ जीवनका लागि खेलकुद आवश्यक रहेको सन्देश छड्ने उद्देश्यले कार्यक्रम गर्न लागेको मूल आयोजक समितिका संयोजक पञ्चराम चौधरीले बताए ।

कार्यक्रममा ५० वटा साँस्कृतिक टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । यसैगरी, पेनाल्टी सुटआउट टोली अन्र्तगत ३५ वर्ष भन्दा माथि उमेर (भेट्रान) समूह ६४, ३५ वर्ष भन्दा मुनि उमेर समूह ६४, र महिला समूह ३२ वटा टिम रहने जनाएको छ । फुटबल पेनाल्टी सुटआउटमा ३५ वर्ष भन्दा माथि उमेर (भेट्रान) समूहमा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद एक लाख ११ हजार एक सय
११ रुपियाँ, उपविजेता टिमलाई ५५ हजार पाँच सय ११ रुपियाँ, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई ५÷५ हजार पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।

त्यस्तै ३५ वर्ष भन्दा मुनि पेनाल्टी सुट आउटमा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद एक लाख १ हजार एक सय ११ रुपियाँ, उपविजेता टिमलाई ५१ हजार एकसय ११ रुपियाँ, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई ५/५ हजार पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।

महिला समूह अन्र्तगत पेनाल्टी शुट आउटमा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद ५१ हजार, उपविजेता टिमलाई २५ हजार पाँचसय रुपियाँ, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई दुई हजार पाँचसय पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।

पेनाल्टी सुटआउट प्रतियोगिताका लागि ३५ वर्ष भन्दा माथि उमेर (भेट्रान) समूहका लागि पाँच हजार पाँचसय, ३५ वर्ष भन्दा मुनि समूहका लागि पाँच हजार र महिला समूहका लागि २५ सय इन्ट्री शुल्क निर्धारण गरिएको छ ।

त्यही कार्यक्रम अन्र्तगत १५ हजार मिटर खुल्ला दौड प्रतियोगिता पनि राखिने आयोजकले जनाएको छ । जुन प्रतियोगितामा विभागिय टिम बाहेक कैलाली जिल्ला भरिका इच्छुक प्रतियोगिले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, दोस्रो पुरस्कार १५ हजार, तेस्रो पुरस्कार १० हजार र सान्त्वना पुरस्कार पाँच हजार रहेको छ ।

थारु समुदाय संंस्कृतिको धनी रहे पनि बाह्य संस्कृतिको प्रभाव पर्दै गएकाले आफ्नो पहिरन, संस्कृतिप्रति सबैको गर्व हुन आवश्यक रहेको संयोजक चौधरीले बताए । ‘राम्रा संस्कृतिको प्रवद्र्धनका लागि हामी सो गाउँपालिकामा जन्मेर विभिन्न क्षेत्रलाई कार्यथलो बनाएका युवाहरुको जमर्कोमा यो कार्यक्रम गर्न लागेका हौं’, उनले भने–‘यसले विशेष खालको सन्देश समुदायमा पुग्ने विश्वास लिएका छौं ।’

कार्यक्रमको पहिलो दिन विहान ८ बजे दौड, १० बजे झाँकी सहितको ¥याली, ११ बजेदेखि २ बजेसम्म कार्यक्रमको औपचारिक उद्घाटन, दिउसो २ बजेदेखि बेलुका १० बजेसम्म पेनाल्टी शुटआउट र आधुनिक सांस्कृतिक प्रतियोगिता हुने मिडिया संयोजक अनत चौधरीले जानकारी दिए ।

त्यस्तै दोस्रो दिन रक्तदान, विहान ८ बजेदेखि पेनाल्टी सुटआउट र थारु सांस्कृतिक प्रर्दशनी र बेलका १० बजे कार्यक्रम समापन हुने मिडिया संयोजक चौधरी जानकारी दिए ।

कार्यक्रम आयोजनाका लागि ३३ लाख ८४ हजार ३८८ रुपियाँ बजेट खर्च हुने जनाइएको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने भएकाले नाचगानका साथ मिठा–मिठा परिकार खाइ मनोरञ्जन गर्ने र शुभकामना साटासाट गर्ने चलन छ ।

खेलको माध्यमबाट विभिन्न उमेर समुहका महिला तथा पुरुषबीच प्रतिस्पर्धात्मक भावनाको विकास गर्नुका साथै थारु समुदायको पौराणिक कला सामाग्रीहरु संरक्षण तथा सम्र्बद्धन हुने आयोजकको विश्वास छ ।