सिन्धुपाल्चोक बस दुर्घटनाः १४ जनाको मृत्यु, १८ घाइते
काठमाडौं, २९ मंसिर । सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ । दोलखा कालिन्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान दुर्घटना भएको हो ।
जिल्लाको सुनकोशी गाउँपालिका – ७ स्थित थुमपाखरमा बस दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनामा परी अन्य १८ यात्रु घाइते भएका छन् । बस कालिन्चोक भगवतीको दर्शन गरी फर्किने क्रममा दर्घटना भएको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत भने भएको छैन । घाइतेहरुलाई खाडीचौर, धुलिखेल लगायत अस्पतालमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ ।













