धनुषा विस्फोटः प्रहरी निरीक्षक दाहालसहित तीनजनाको मृत्यु

काठमाडौं, २८ मंसिर । धनुषामा भएको बम बिस्फोटमा परी प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगर निवासी राजेश साहको घरमा झुण्ड्याइएको बम बिस्फोट भएको हो । बम राखिएको जानकारी दिएर घटनास्थल पुगेको प्रहरीले सावधानी अपनाउँन नसक्दा बम विस्फोट भएको थियो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर कुमार दाहालको टोली साहको घर पुगेको थियो । तर, बिना सावधानी निरीक्षक दाहालले बमलाई हल्लाएका थिए । दाहालले हल्लाउँदै ‘केही होइन’ भनेर हल्लाएलगत्तै बम विस्फोट भएको बताइएको छ । बिस्फोटमा परी घरधनी राजेश र उनका छोरा आनन्द साहको मृत्यु भएको जनाएको छ ।

त्यसैगरी विष्फोटमा राजेशका एक छोरा, एक छोरी र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् । बम विस्फोटमा परी गम्भीर घाइते भएका इन्स्पेक्टर दाहालको उपचारका क्रममा बीपी कोइराला विज्ञान प्रतिष्ठान (धरान)मा शनिबार बिहान ७ बजे मृत्यु भएको हो ।

प्रहरीका अनुसार शुक्रबार राति ११ बजेतिर राजेशकी पत्नी शौच गर्न उठ्दा घरको गेटमा शंकास्पद बस्तु रातो रंगको झोलामा झुण्ड्याएको देखेकी थिइन् । त्यसपछि घर परिवारलाई जानकारी भयो । लगत्तै राजेशले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा खबर गरेका थिए ।