पर्यटन वर्षको पूर्वसन्ध्यामा पश्चिम नेपालको परिचय दिने देउडा गीत (भिडियोसहित)
कैलाली, २५ मंसिर । जनयुद्धका बाल कलाकार स्वर्णीम शाहीको देउडा गीत ‘चलन चलीया’ सार्वजनिक भएको छ । कला, संस्कृति र पर्यटनको पहिचानसहितको देउडा गीत सार्वजनिक भएको हो ।
पश्चिम नेपालको कला, संस्कृति र पर्यटनको पहिचान एकसाथ दिने उद्देश्यले गीत ल्याएको गीतकार शाहीले बताए । शब्द, संगीत, स्वर र अभिनय समेत शाही आफैले गरेको नयाँ गीतले मध्य र सुदूरपश्चिमको कला, संस्कृति र पर्यटनको पहिचान दिएको छ ।
गीतमा शाही र गायीका माण्डवी त्रिपाठीको स्वर रहेको छ । त्यसैगरी अभिनयमा शाहीसँगै मोडल रोजी कुँवरले साथ दिएकी छन् ।
कुशल म्युजिक प्रा.लि.ले बजारमा ल्याएको गीत विशेष फिल्मस् युट्युवमार्फत सार्वजनिक गरिएको हो ।
कालिकोटको पचाल झरना गाउँपालिका–९ का निवासी शाही २०५७ सालमा जनयुद्धमा पूर्णकालिन भएका थिए । १४ वर्षको कलिलो उमेरमा जनयुद्धमा पूर्णकालिन भएका शाही २०५८ सालमा जनयुद्धको बालकलाकारबाट जनकलाकारिताको यात्रा थालेका थिए । शाहीका एक दर्जन गीतहरु रेकर्ड भइसकेका छन् ।













