भुटानलाई हराउँदै साग फूटबलमा नेपालको विजय
काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फूटबल फाइनल खेलमा नेपालले भुटानलाई पराजित गरेको छ ।
मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले भुटानलाई २(१ गोल अन्तरले पराजित गर्दै स्वर्ण जितेको हो ।
नेपालका लागि शुरूआती अग्रता पहिलो हाफको १६ औं मिनेटमा अभिषेक रिजालले दिलाएका थिए । तर ३२ औं मिनेटमा भुटानका चेञ्चो ग्याल्सेनले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।
पहिलो हाफ एक(एकको बराबरीमा टुंगिएको खेलमा नेपाली टोली भुटानविरुद्ध पुनः हाबी भयो । खेलको ५२ औं मिनेटमा सुनिल बलले हेडमार्फत शानदार गोल गर्दै नेपाललाई २(१ को अवस्थामा ल्याए ।
अन्तिमसम्म पनि भुटान खेलमा फर्कन प्रयास गरिरहे पनि सफल भएन र खेल नेपालले २(१ ले जित्यो । यससँगै नेपालले साग फूटबलमा स्वर्ण हात पारेको छ । फूटबलमा स्वर्ण पदक जितेसँगै नेपालले ५१ वटा स्वर्ण पदक जितेको छ ।













