पशुचिकित्सकको बलात्कारपछि हत्या गर्ने चारै जनालाई प्रहरीले गोली ठोक्यो
एजेन्सी, २० मंसिर । दक्षिण भारतको हैदरावादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका चार सन्दिग्ध व्यक्तिहरु ‘प्रहरी इन्काउन्टर’ मा मारिएका छन् ।
बुधवार प्रहरी नियन्त्रणमा परेका उनीहरुलाई १४ दिनका लागि न्यायिक हिरासतमा राखिएको थियो । तेलङ्गाना प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार आज शुक्रवार बिहान तीन बजेतिर उनीहरूको एउटा ‘भिडन्त’ मा मृत्यु भएको बीबीसीमा उल्लेख छ ।
घटनास्थल हैदराबादबाट ५० किलोमिटर पर रहेको बताइएको छ । महिला चिकित्सकलाई बलात्कारपछि जलाइएकै स्थानमा लगेर उनीहरुलाई गोली ठोकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आफूहरुमाथि नै आक्रमण प्रयास गरेपछि प्रतिकार गर्दा अभियुक्तहरु मारिएको प्रहरीले दाबी गरेको छ । प्रहरीका अनुसार घटनामा दुई सुरक्षाकर्मी पनि घाइते भएका छन् ।
प्रहरी इन्काउन्टरमा मारिएका चार जना
२८ नोभेम्बरका दिन हैदराबादमा जलाएर हत्या गरिएको अवस्थामा २६ वर्षीया महिला चिकित्सकको शव बरामद गरिएको थियो । अनुसन्धानका क्रममा ती महिलामाथि बलात्कारसमेत भएको पत्ता लागेको थियो ।
यो घटनामा सडकदेखि संसद्सम्म दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको थियो । संसद्मा बोल्दै सांसद जया बच्चनले भिडले नै दोषीलाई दण्ड दिनुपर्ने टिप्पणी गरेकी थिइन् ।
दक्षिणी राज्य तमिलनाडुकी सांसद विजिला सात्यनान्थले देश महिला तथा बालबालिकाका निम्ति सुरक्षित नभएको भन्दै ती चार जनालाई डिसेम्बर ३१ अगावै फाँसी दिनुपर्ने माग राखेकी थिइन् ।
रक्षामन्त्री राजनाथ सिंहले उक्त घटना भारतका लागि लज्जास्पद भएको टिप्पणी गरेका थिए। उनले घटनाको निन्दा गर्ने उचित शब्द आफूसँग नभएको बताएका थिए ।
गत साता पीडित महिलाको परिवारले प्रहरीले समयमै कारबाही नगरेको आरोप लगाएपछि तीन प्रहरी अधिकारी निलम्बनमा परेका थिए ।
पीडित महिला सम्पर्कविहीन भएको उजुरी गर्न जाँदा प्रहरीहरूले उनी भागेको हुन सक्ने भन्दै टिप्पणी गरेको उनका नातेदारले राष्ट्रिय महिला आयोगलाई बताएका थिए ।
यसरी भएको थियो बलात्कार र हत्या
नोभेम्बर २८ को साँझ स्थानीय समयानुसार छ बजेतिर २७ वर्षीया महिला आफ्नो स्कूटरमा चिकित्सकहाँ जाने भन्दै घरबाट निस्किएकी थिइन् ।
पछि उनले आफ्नो स्कूटर पन्चट भएको र एक ट्रक ड्राइभर सहयोग गर्न अघि सरेको जानकारी परिवारलाई फोनबाट दिएकी थिइन् । उनले आफू कुनै टल प्लाजा – सडकमा आवागमनका लागि पैसा तिर्ने ठाउँ – मा पर्खिरहेको बताएकी थिइन् ।
त्यसको केही समयपछि उनलाई फोनमा सम्पर्क गर्ने प्रयास विफल भयो ।
बिहीवार बिहान उनको मृत शरीर सडकको ‘फ्लाईओभर’ मुनि एक दूध व्यापारीले भेटेका थिए ।
सन् २०१२ को डिसेम्बरमा राजधानी दिल्लीमा एक महिलाको बसभित्र सामूहिक बलात्कार र हत्या भएयता भारतमा महिलाविरुद्धका यौन हिंसा चर्चाको केन्द्रमा रहँदै आएको छ। तर त्यस्ता हिंसाका घटना कम भएका सङ्केत देखा परेका छैनन् ।
अपराधबारे पछिल्ला सरकारी आँकडामा सन् २०१७ मा भारतभर प्रहरीले ३३,६५८ बलात्कारको घटना – अर्थात् प्रतिदिन ९२ – रेकर्ड गरिएको उल्लेख छ ।













