राधा कृष्ण मुक्तकमैया शिविरलाई नगरपालिकाले व्यवस्थित बास बसाउने निर्णय
कैलाली, १९ मंसिर । धनगढी उपमहानगरपालिका र मुक्तकमैयाबीच जग्गाको विषयमा उत्पन्न विवाद टुंगो लागेको छ ।
उपमहानगरपालिकाले वडा नं. ८ स्थित राधाकृष्ण मुक्तकमैया शिविरमा बस्दै आएका तर नगर स्वास्थ्य भवन निर्माणको क्रममा उठीबासको संत्रासमा रहेका मुक्तकमैया परिवारलाई व्यवस्थित बास बसाउने सहमतिपछि विवाद टुंगिएको हो ।
नगरपालिकाले निर्माधीन धनगढी सिटी हल र नगर स्वास्थ्य चौकीको बीचमा पर्ने खाली ऐलानी जमिनमा बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
२०६१ देखि बासोबास गर्दै आएका मुक्तकमैयालाई वडा कार्यालयले मन्दिरको जग्गामा बासोबास गर्दै आएको भन्दै सो जग्गा खाली गराई नगर स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न लाग पछि विवाद भएको थियो । सो जग्गामा बस्दै आएका कमैयाहरु आफूहरुको उठिबास हुने त्रासले निर्माधीन भवनको कार्य रोकेपछि नगरपालिका र मुक्तकमैयाबीचको विवाद उत्कर्षमा पुगेको थियो ।
धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड, वडा अध्यक्ष नारायण बराल, मुक्तकमैया, स्थानीबासी, राधाकृष्ण मन्दिरका प्रतिनिधिबीच छलफलपछि जग्गा दिने निर्णय गरिएको छ ।
निर्णय अनुसार मुक्तकमैया रविन चौधरी, विनोद चौधरी, सुशिल चौधरीलाई एकमुष्ट १ कठ्ठा, मुक्तकमैया वीर बहादुर चौधरी र करन चौधरीलाई एक मुष्ट १० धुर दिने निर्णय भएको छ ।
मुक्तकमैया जियाराम चौधरी, देवल चौधरी र सुल्फी चौधरीलाई ७/७ धुरको दरले जग्गा दिने निर्णय भएको छ ।
शिविरमा बासोबास रहेका अर्का मुक्तकमैया किसन चौधरीलाई भने बाटो र कुलोको क्षेत्र छोडेर बाँकी देखिने जग्गामा जग्गा दिइने निर्णय भएको हो ।













