विद्यालय स्तरीय बालविवाह, बहुविवाह र लागुऔषधविरुद्ध प्रशिक्षण
धनगढी, १६ मंसिर । कैलारी गाउँपालिकाको न्यायिक समितिले विद्यार्थीलाई बालविवाह, बहुविवाह र लागुऔषधविरुद्धको सचेतनामूलक प्रशिक्षण प्रदान गरेको छ ।
समितिले गाउँपालिकाभरि रहेका सबै माध्यमिक विद्यालयका विद्यार्थीलाई प्रशिक्षण दिएको हो । सो गाउँपालिकामा नौ वटा माध्यमिक विद्यालय रहेका छन् । प्रत्येक विद्यालयमा नौदेखि १२ कक्षासम्मका विद्यार्थीलाई सहभागी गराएर सचेतनामूलक प्रशिक्षण दिइएको न्यायिक समितिका संयोजक एवम् गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवाले जानकारी दिइन् ।
थारु समुदायको बाहुल्यता रहेको कैलारी गाउँपालिकामा बालविवाह बढ्दो रहेको छ । यसैगरी, युवा पुस्ता विभिन्न कुलतमा लाग्नेक्रम पनि उत्तिकै रहेको जनाइएको छ । समितिले बालविवाह, बहुविवाह गर्दा वा लागुऔषधको कुलतमा लाग्दा हुने सजाय र कानुनी व्यवस्थाको बारेमा विद्यार्थीलाई जानकारी गराएको छ ।
कानुनको बारेमा अनविज्ञ रहेका विद्यार्थीहरुले बालविवाह, बहुविवाह र कुलतका विरुद्धमा बनेका कानुनी सजायको व्यवस्थाका बारेमा थाहा पाएर खुशी व्यक्त गरेको जनाइएको छ । बढ्दो बालविवाह र कुलत रोक्नका लागि विद्यालय स्तरबाटै सचेतना जगाउन आवश्यक रहेको समितिका संयोजक सत्गौंवाले बताइन् । ‘विद्यालयमा विद्यार्थीको ध्यान किताबी ज्ञानमामात्रै केन्द्रित हुन्छ’, उनले अगाडि थपिन्–‘तर, उनीहरुलाई सामाजिक कुप्रथा, कुसंस्कार, बालविवाह, बहुविवाहविरुद्ध बनेको कानुनका बारेमा पनि जानकारी गराउन आवश्यक छ ।’ यस्तो आधारभूत प्रशिक्षणले विद्यार्थीलाई कानुनी ज्ञान आर्जन गर्न सहयोग हुने सत्गौंवाले बताइन् ।
विद्यालयस्तरबाटै विद्यार्थीलाई सचेत गराउने कार्य प्रभावकारी हुने गरेको उनको भनाइ थियो । प्रशिक्षण कार्यक्रममा न्यायिक समितिका कानुनी सल्लाहकार सूर्य भण्डारी, अधिवक्ता डा. जानकी तुलाधर लगायतले कानुनको बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए । कार्यक्रममा विद्यार्थी, न्यायिक समितिका पदाधिकारी, वडा अध्यक्षहरु र गाउँपालिकाको विभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।













