केटा पक्षले दाइजो नमागेपछि बेहुलीले बाँडिन् गरिब बस्तीम कपडा
सप्तरी, १३ मंसिर । सप्तरीमा केटापक्षले दाइजो नमागेपछि बेहुलीले गाउँका गरिब र दलितलाई साडी, धोतीलगायत कपडा बाँडेकी छिन् ।
सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका ४ मधवापुरकी अभिलाषा झा र सप्तरीकै बलान बिहुल गाउँपालिका ४ का अमितकुमार झाको बिहीबार सम्पन्न विवाहमा केटीपक्षले मुस्लिम टोल, मुसहर टोलका ४२५ जनालाई साडी, धोती र भेस्ट वितरण गरेका हुन् ।
नम्बरी खेत, मोटरसाइकल, लैनौ भैसी, नगद रुपैयाँ दाइजोमा नदिए विवाह नै नहुने तराई मधेसमा बेहुला पक्षले दाइजो नमागेकाले बेहुलीका बुवा शैलेन्द्रचन्द्र झाले दाइजोमा दिनुपर्ने रकम गरिब, दलितका लागि खर्च गरेको बताए ।
केटापक्षले दाइजो प्रथाको विरोधी रहेकाले दाइजो नमागेको बताए । अमितले आफ्नी हुनेवाला श्रीमति इञ्जिनियर र रोजगारी पनि गरिरहेकीले आफूलाई श्रीमतिको सोही शिक्षा दाइजो भएको भन्दै दाइजो नमागेको बताए ।
विवाहअघि बेहुलीले मधवापुरको तीन टोलका एक सय २५ जना महिलालाई साडी, २० जना पुरुषलाई धोती र २७५ जना बालबालिकालाई भेष्ट वितरण गरिन् । दक्षिणासहित आशिर्वाद लिने चलन विपरित बेहुलीका हातबाट नयाँ वस्त्र ग्रहण गर्दै गाउँलेले टाउकोमा हात राखेर आशिर्वाद दिए । बेहुली अभिलाषाले गरिब, दलितलाई साडी, धोती बाँडेर आशीर्वाद माग्दा आफ्नो सपना पुरा भएको विश्वास व्यक्त गरिन् ।
उनले विवाहमा दाइजो दिनुपर्ने रुपैयाँ सामाजिक काममा खर्च गर्न पाउँदा खुशी लागेको बताइन् । काठमाडौं र राजविराजमा घर भएपनि मूलघर मधवापुरबाटै गाउँलेलाई साक्षी राखी विवाह गर्न पाएकोमा उनी खुशी देखिन्थिन् ।
विवाहको अवसरमा ग्रामीण विपन्न परिवारलाई नयाँ कपडा वितरण गरेकोमा जाडो छल्न सजिलो हुने दृष्टिविहिन चन्दन सदाले बताए । अभिलाषा समाजसेवी एवम राजनीतिकर्मी शैलेन्द्रचन्द्र झाकी छोरी हुन्। इन्जिनियर अध्ययन पूरा गरी अभिलाषा नेपाल स्काउटमा कार्यरत छिन्। अमित पनि इन्जिनियर हुन् । महिला खबरबाट













