५६ वर्षीय बृद्धबाट बालिका बलात्कृत, प्रहरीले नै आरोपी जोगाएको आशंका
कैलाली, १२ मंसिर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला कैलालीमा एक १२ वर्षीया बालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ ।
बालिकालाई बलात्कारमा संलग्न भनिएका कैलारी गाउँपालिकाका ५६ वर्षीय वृद्ध भागीराम चौधरी रहेको पीडितका आफन्तको दाबी छ ।
बृद्ध भागीरामले एक महिना अगाडीदेखि नै बालिकालाई चक्लेट र रुपैयाँ दिएर ललाई फकाई गरी बालिकालाई आफ्नो प्रभावमा पार्दै आएको पीडितको भनाइ छ ।
बालिकाकी बजैले भनिन् ‘नातिनी तीन दिनसम्म कोठा भन्दा बाहिर निस्कन सकिनन् । पिसाव फेर्न बाहिर आउँदा हिडाइ पनि फरक देखेपछि सोधे । तिमीलाई के भयो ? किन यसरी हिडेको ? जवाफमा नातिनी रोइन् मात्रै ।’
केहीबेरपछि नतिनीले एकाएक ‘टेरि कोह्रिया पापी रन्डा’ भन्दै गाली गर्न थालिन्, भन्दै गाली गर्न थालिन्, र भनिन् भागीरामले आफूलाई यौन सम्पर्क गरेको कुरा आफ्नो बजैलाई सुनाईन् ।
‘नातिनी तीन दिनसम्म भोकै बसिन् । पछि शंका लागेर पीडकको घर गएर उसको (पीडक) श्रीमतिलाई सोधपुछ गरे । मेरो नातिनीलाई के भयो ? तिमीहरुको घरमा खेल्न आउँथ्यो ?’ बालिकाकी बजैले घटनाको प्रकृति सुनाइन् ।
अर्को दिन पीडकको श्रीमति नै आफ्नो श्रीमानले बालिकालाई बालिकाकै घर गएर कात्तिक ३ गते बलात्कार गरेको घटना खुलाएको बालिकाकी बजैले जानकारी दिइन् ।
“उसको (पीडक) श्रीमति हाम्रो घरमा आएर बुहारी (बालिकाकी आमा) लाई भनिन्, ‘श्रीमानलाई सोधीखोजी गर्दा सबै जना खेतमा धान काट्न गएको मौका छोपेर यौन सम्पर्क ग¥र्यो ।’ त्यसपछि मात्रै हामीले यसले यस्तो घृणित काम गरेको वारे थाहा पायौ” उनले अगाडी थपिन् ।
घटना लगत्तै दीपावली भएको कारण उनीहरु शुरुमा गाउँमै घटना मिलाउनलाई छलफल थालेको बुझिएको छ । छलफलमा कुरा नमिलेपछि ईलाका प्रहरी कार्यालय हसुलियामा मंसिरको पहिलो साता ठाडो निवेदन पेश गरेको बालिकाका आफन्तले बताए ।
उनीहरु ईलाकाबाट काम नहुने भएपछि मंसिर ५ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी लिएर आए । मुद्धा दर्ता गराए ।
तर मुद्धा दर्ता भएको एक साता पुगिसक्दा समेत प्रहरी पीडक भनिएका भागीराम चौधरीलाई अनुसन्धानको दायरामा नल्याएको पीडित परिवारले गुनासो गरेका छन् । यातिमात्रै नभई पैसामा मुद्धा मिलाउन दवाव सिर्जना हुँदै आएको बताएका छन् ।
बालिकाकी आफन्त भन्छन् ‘जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएको मुद्धा पीडकका छोरा बालीराम चौधरीले पढिसकेको वारे जानकारी हामीलाई छ । उसले हामीलाई धम्की दिदै डाडु पन्यू आफ्नै हातमा रहेको र बरु २ लाख २५ हजार रुपैया दिन्छौं आफ्नो मुद्धा फिर्ता लेऊ ।’
बलात्कार आरोपित बृद्ध हाल फरार छन् । मुद्धा दर्ता भएको एक साता गुज्रेपनि प्रहरीले अनुसन्धानमा ढिलाइ गरेपछि पीडक र प्रहरीबीच मिलेमतोको आशंका व्यक्त गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले पीडक फरार भएको बताए । उनले मुद्धा अदालती प्रक्रियामा अगाडी बढेको जानकारी दिए ।
मुुलुकमा दिनप्रति दिन बलात्कार जस्ता यौनजन्य घट्ना बढ्दै गएको छ । ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान जारी छ । तर ग्रामीण भेगमा त्यस्ता घटना अझैसम्म पनि वाहिर आउन सकिरहेका छैनन् ।













