कमैया बस्तीको उठीबास गरि नगर स्वास्थ्य चौकी बनाउँदै
कैलाली, ९ मंसिर । धनगढी उपमहानगरपालिका कार्यालय कैलालीले कमैया बस्तीको उठीबास गरि नगर स्वास्थ्य चौकी सिलिन्यास गरेको छ ।
धनगढी ८ राधाकृष्णा मुक्त कमैया शिविरका सुल्फीदेवि चौधरी, अनिता चौधरी र दखनी चौधरीले भोगचलन गर्दै आईरहेको जग्गामा नगर स्वास्थ्य चौकी निर्माण भईरहेको हो ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृप वडले यहि कात्तिक २६ गते भवन सिलान्यास गरेका थिए । छुट मुक्त कमैया सुल्फी चौधरीले भाोगचलन गर्दै आएको १० धुर जमिन नगर स्वास्थ्य चौधरीले कब्जा जमाएको चौधरीको आरोप छ ।
उनले भनिन् ‘म एकल महिला, धेरै बोल्न सक्दिन । वडा अध्यक्षले अन्तै ठाउँमा व्यवस्था मिलाई दिन्छु भन्दै ललाई फकाई गरेर हट्न आग्रह गरे ।’
२०६१ भदौं १६ गते देखि भोगचलन गर्दै आएको जमिन नगर स्वास्थ्य चौकीको नाममा हड्पे सुल्फिको आरोप छ । आफ्नो उठीबास हुने निश्चित भएपछि हाल उनी निर्माण कार्यलाई रोकिदिन थारु अगुवाहरुसंग अनुरोध गरेकी छिन् ।
सोहि ठाउँमा अनिता चौधरीले पनि घर निर्माण गर्नै लागेको बेला नगरपालिकाको टोली आएर डोजर चलाएको बताईन् । उनले भनिन् ‘घर बनाई सकेका थियो, छानो हाल्न बाँकी थियो । नगरपालिकाको टोली आएर डोजर लगाएर गए ।’

धनगढी नगरपालिका ८ का वडा अध्यक्ष नारायण प्रसाद बरालले भने बस्ती बसेको जमिन राधाकृष्णा मन्दिरको भएकोले नगर स्वास्थ्य चौकी निर्माण गर्न लागेको बताए । उनले भोगचलन गर्दै आएकाहरुलाई अन्तै व्यवस्थापन गर्ने बताए ।
उनीहरुलाई उठिबास गर्ने नियत नरहेको बताउदै अध्यक्ष बरालले भने ‘यो जग्गा मन्दिरको नाममा छ । मन्दिरले उनीहरुलाई जुनसुकै बेला हटाउन सक्छ । त्यो भन्दा पहिला उनीहरुलाई व्यवस्थापन गरौं भन्ने सोचले स्वास्थ्य भवन बनाउन लागेको हो ।’ उनीहरुलाई व्यवस्थापनको लागि छिट्टै निकास खोज्ने बरालले प्रतिबद्धता गरे ।
उता थारु कल्याणकारी सभा कैलालीका सभापति लाहुराम चौधरीले कमैया बस्ती जुन जुन ठाँउमा बसोबास गरेको छ, सरकारले त्यहि ठाउँमा आँखा गाडेको आरोप लगाए ।
सभापति चौधरीले भने ‘धनगढीमा डिभोटी होटेलका सञ्चालक कृष्णाबहादुर महरा जस्ता सम्पन व्यक्तिले ऐलानी जमिनमा घर खडा गर्दा सरकार मुखदर्शक बन्छ तर कमैया बस्तीलाई विभिन्न बहानामा उठीबास लगाउँछ, सरकारले नियतबस नै थारुमाथि थिचोमिचो गरेको हो ।’
सभापति चौधरीले नगरपालिकाले राधाकृष्णा मुक्त कमैया बस्तीलाई व्यवस्थापन गरेर मात्रै भवन निर्माण कार्यलाई अगाडी बढाउन अनुरोध गरे । समस्या समाधान नगरि निर्माण कार्यलाई अगाडी बढाएको भन्दै थारु कल्याणकारिणी सभा कैलालीले आपत्ति समेत जनाए ।













